विराटनगर : नेकपा माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारले साचे अुनसारको काम गर्न नसकेको बताएका छन् ।
आइतबार प्रदेशसभा बैठकमा बोल्दै उनले वर्तमान सरकारले कामको गति लिन नसकेको आरोप लगाएका हुन् । ‘यो सरकारले जुन गतिमा काम गर्नुपर्ने थियो त्यो अनुभूति हामीले गर्न पाएका छैनौं,’ उनले भने ।
प्रदेशको नामकरणपछि उत्पन्न परिस्थितिको समाधानमा सरकार चुकेको बताउँदै उनले तत्काल सरकारले शान्तिपूर्ण वार्तामा ल्याउने काम गर्नुपर्ने बताए ।
नामकरणको समस्या समाधान गर्नबाट प्रदेश सरकार पन्छिन खोजेको आरोप लगाउँदै आङ्बोले भने, ‘नामकरणको समस्या हामीले नै सिर्जना गरेको हौँ । यसको समाधान प्रदेश सरकारबाटै हुनुपर्छ ।’ प्रदेशले नामकरणपछि उत्पन्न विवाद समाधानको जिम्मा संघीय सरकारतिर पन्छाउन खोजेको उनको आरोप छ ।
‘अहिले ढुंगा हानिरहेका साथीहरु हुन् वा ढुंगा छेकिरहेका सुरक्षाकर्मी साथीहरु हुन् सबैको अभिभावक सरकार हो’ उनले भने, ‘यो संघीय सरकारतिर फर्काएर धर पाउदैनौं, हामीले नै समाधान गर्नुपर्छ ।’
यस्तै मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार एकलौटी ढंगले अघि बढेको उनले बताए । सत्ता साझेदार दल भए पनि सरकार सञ्चालनका विषयमा मुख्यमन्त्रीले आफूहरुसँग कुनै छलफल नगरेको उनको भनाइ छ ।