विराटनगर : कोशी प्रदेशसभाको दोस्रो अधिवेशनको पहिलो तथा बजेट अधिवेशन सुरु भएको छ ।
प्रदेश प्रमुखले प्रदेशसभाको दोस्रो अधिवेशन अर्थात् बजेट अधिवेशन आजका लागि आह्वान गरेका थिए। सोही आधारमा प्रदेश सभाको दोस्रो अधिवेसनको पहिलो बैठक सुरु भएको हो ।
प्रदेशसभा सचिवालयले बैठकको कार्यसूचि सार्वजनिक गरेको छ । प्रदेश ऐनमा नाम समायोजन सम्बन्धी बिधेयक सम्बन्धित मन्त्रीले प्रदेशसभामा पेश गर्ने सचिवालयले जनाएको छ ।
यस्तै प्रदेश प्रमुखबाट जारी प्रदेश सरकारको स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश, २०८० तथा प्रदेश निजामती सेवा ऐन (पहिलो संशोधन) अध्यादेश, २०८० प्रदेशसभामा पेश गर्ने कार्यसूचि रहेको संसद सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिए ।
बैठकमा कोशी प्रदेशसभा नियमावलीको मस्यौदाको प्रतिवेदन पनि पेश गर्ने तयारी गरिएको छ । प्रदेशसभा नियमावली मस्यौदा समितिका संयोजकले कोशी प्रदेश सभा नियमावली, २०७९ को मस्यौदाको प्रतिवेदन प्रदेशसभामा पेश गर्नेछन् ।
पराजुलीका अनुसार प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम ६(५) बमोजिम प्रदे सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता वा प्रतिनिधिहरुले सभामा बोल्न समय दिने कार्यसूचि रहेको छ।