विराटनगर : कोशी प्रदेशमा आजबाट दोस्रो तथा बजेट अधिवेश सुरु हुँदै छ । बजेट अधिवेशनका लागि आज दिउँसो दुई बजे प्रदेशसभाको बैठक बस्ने छ ।
प्रदेशको नामकरणपछि उत्पन्न विवादका कारण पहिचान पक्षधरहरुले प्रदेशसभा लक्षित आन्दोलन गर्न सक्ने भन्दै बिहानैबाट विराटनगरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । विराटनगरका विभिन्न स्थानमा निषेधाज्ञा लगाइएको छ ।
नामकरणपछि उठेको आन्दोलन दबाउन र प्रदर्शन गर्न नदिन जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा लगाएको हो । प्रदेशको नाम कोशी नामकरण भएपछि उक्त नाम खारेजीको माग गर्दै प्रदेशमा पहिचानको आधारमा पुनः नामकरण हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएको संयुक्त संघर्ष समितिले आइतबारदेखि विराटनगर केन्द्रित आन्दोलनको घोषणा गरेपछि प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार प्रदेशसभा केन्द्रित सुरक्षा व्यवस्था मजवुत बनाइएको छ । त्यसबाहेक मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्रीको निवास र प्रदेश प्रमुखको कार्यालयको सुरक्षालाई ध्यान दिइएको उनले बताए ।
प्रदेशसभा सचिवालय वरपर बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
बिहानै १३ जना पक्राउ
कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुनुअघि आन्दोलनमा उत्रिएका एलभी फोर्सका १३ जना कार्यकर्तालाई प्रहरीले आज बिहानै विराटनगरबाट पक्राउ गरेको छ । विराटनगरस्थित देवकोटाचोकबाट उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुले प्रदेशसभा घेराउ गर्ने उद्देश्यले जम्मा भएका थिए । पक्राउ पर्नेमा संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष थाङसाङ लावती, उपमहासचिव दिपा आङ्दाङ्वालगायत छन् । १२र१५ जना एलभी लेखिएको हेल्मेट लगाएको समूहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।