Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

खोटाङको केपिलासगढी गाउँपालिकाले प्रदेशको नाम ‘कोशी’ नलेख्ने



विराटनगर : खोटाङको केपिलासगढी गाउँपालिकाले आफ्नो सरकारी कागजातमा कोशी प्रदेश नाम नलेख्ने भएको छ । गाउँपालिकाको कार्यपालिका बैठकले आफ्नो लेटर प्याड, छाप र कार्यालयको बोर्डमा कोशी प्रदेश नलेख्ने निर्णय गरेको हो ।

बिहीबार सम्पन्न कार्यपालिकाको बैठकले नामकरणको विरोध भइरहेकाले आफ्नो पालिकामा पनि उक्त नाम नलेख्ने निर्णय गरेको छ ।

गत फाल्गुन १७ गते प्रदेशसभाका दुई तिहाइभन्दा बढी सदस्यको मतले कोशी नामकरण भएको थियो । तर, पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने माग राख्दै पहिचान पक्षधरहरुले प्रदेशमा आन्दोलन गरिरहेका छन् ।

प्रदेश सरकारले आफ्नो संवैधानिक कार्यक्षेत्रभित्र रहेर कोशी प्रदेश नामकरण गरेको गरे पनि नामकरणविरुद्ध आन्दोलन भइरहेको केपिलासगढी गाउँपालिकाले उक्त नाम नलेख्ने निर्णय सार्वजनिक गरेको छ । ‘प्रदेश सरकारले आफ्नो संवैधानिक कार्यक्षेत्र भित्र रही मिति २०७९/११/१७ गते कोशी प्रदेश नामाकरण गरेको तर सो नामाकरण सम्बन्धमा यस प्रदेशमा रहेको विभिन्न संघसंस्था, राजनीतिक दल तथा स्वतन्त्र नागरिक समाजबाट उक्त नामकरण विरुद्ध आन्दोलन भइरहेको छ,’ निर्णयमा भनिएको छ ।

खोटाङका विभिन्न स्थानीय तहहरूले समेत आफ्नो लेटर हेड, प्याड, छाप र कार्यालयको बोर्डमा कोशी प्रदेश नराख्ने निर्णय गरेको भन्दै केपिलासगढी गाउँपालिकाको कार्यपालिका बैठकले अर्को व्यवस्था नभइन्जेलसम्मको लागि लेटर प्याड, छापमा र कार्यालयको बोर्डमा कोशी प्रदेश नराख्ने निर्णय सर्वसम्मतले पारित गरेको निर्णयमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार