Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

जँड्याहाले पनि यस्तो बोल्दैन, संसद्मा तथ्यहीन बोल्ने: अध्यक्ष ओली



काठमाडौं :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिमा सुनको जलहरी प्रकरणमा तथ्यहीन आरोप लगाएको बताएका छन् । स्थानीय तहका जनप्रतिनिधिका लागि काठमाडौंमा आयोजना गरिएको अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले एमालेलाई चौतर्फी घेराबन्दी भइरहेको र त्यसैको कडीको रूपमा यसलाई बुझ्नुपर्ने बता्ए । उनले भने, ‘अस्तिका दिन मात्रै एकजना माओवादी सांसदले रोष्ट्रममा उभिएर बोल्दा, कोभिडको औषधिमा दुई अर्ब केपी ओलीले खायो, कहाँ गयो त्यो पैसा ? पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको जलहरी हालेर भ्रष्टाचार गर्‍यो भनेर बोल्नुभयो। ‘हुनैपर्छ संसद अवरूद्ध, किनभने यस्तो बकवास ! जँड्याहाँले जाँड खाएको तालमा पनि त्यस्तो कुरा बोल्दैन।’

ओलीले संसद्जस्तो गरिमामय ठाउँमा कोभिड १९ का बेला औषधी उपकरण खरिद्मा दुई अर्ब खाएको भन्ने आरोप लगाएको भन्दै आक्रोश पोखे । उनले भने, ‘दुई अर्ब पैसामा खायो भन्ने, त्यसको कि त पुष्टि हुन पर्‍यो ? पुष्टि हुने त कुनै सम्भावना छैन। नेकपा एमाले, त्यसमा पनि केपी ओली जसले जिन्दगीभरि भ्रष्टाचारको विरूद्धमा अभियान चलाएर आएको छु। त्यही मानिसकोविरूद्ध यो त इमानका शत्रुहरूले गर्ने काम हो। देशद्रोही तत्वहरूले गर्ने काम हो।’

नक्कली भुटानी शरणार्थी प्रकरणको निशाना एमालेलाई बनाइएको भन्दै उनले भने, ‘नेपालीहरूलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने खालको धन्दामा केही व्यक्ति सामेल रहेछन्। अदालतका केस छ, यसमा म धेरै भन्न चाहन्न। तर, यसमा सम्पूर्णरूपमा बाढीचाहिँ एमालेतर्फ खन्याउन खोजियो।’

एमाले भ्रष्टाचारको सधैं विरोधी र स्वच्छता, पारदर्शिताको पक्षपोषक भएको ओलीको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार