विराटनगर : केन्द्रीय गठबन्धनकै आधारमा प्रदेश सरकार गठन हुनुपर्ने माग राख्दै आएको नेपाली कांग्रेसले कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढाल्न लागि परेको छ ।
नेपाली कांग्रेसको कोशी प्रदेश संसदीय दलको बैठकले जेठ ४ गते केन्द्रीय सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी र जनता समाजवादी पार्टी (जसपा) लाई सरकारबाट फिर्ता हुन आग्रह गर्ने निर्णय गरेको थियो ।
त्यसलगत्तै कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र जसपाबाट सरकारमा सहभागी भएकी निर्मला लिम्बूलाई पत्र लेख्दै वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिन लिखित पत्र बुझाएका छन् ।
निर्वाचन परिणामपछि गठबन्धन दलमा केही मतभेद देखापरि गठबन्धन दलमा केही फेरबदल भई राष्ट्रपतिको निर्वाचन अघि पुनः गठबन्थन दलहरू एकै ठॉउमा उभिएको कुरा स्मरण गराउँदै घीय सरकार र ६ वटा प्रदेश सरकारमा हालको गठबन्धन अनुसार नै सरकार गठन भैसकेको अवस्थामा गठबन्धन दलहरुको मर्म र भावना अनुरुप कोशी प्रदेशमा संघिय गठबन्धन अनुरुप नै सरकार गठन गर्नुपर्ने कांग्रेसले पठाएको पत्रमा उल्लेख छ ।
‘नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको निर्णय बमोजिम तपाइंहरुको दलबाट हालको कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरी गठबन्धन दलहरुको सरकार निर्माण गने वातावरण तय गर्नुहुन आग्रह गर्दछु,’ कांग्रेस संसदीय दलका नेता थापाले पठाएको पत्रमा उल्लेख छ ।
माओवादी केन्द्रले भने पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले पठाएको पत्रबारे जानकारी गराउने र माथिबाट आएको निर्देशनलाई कार्यान्वयन गराउने बताएको छ ।
यता, जसपाले पनि पार्टी केन्द्रको निर्णयअनुसार अघि बढ्ने बताएको छ । जसपाबाट प्रदेश सरकारमा सहभागी स्वास्थ्यमन्त्री निमर्ला लिम्बूले पार्टीको आधिकारिक निर्णय आएपछि मात्रै सरकारमा रहिरहने कि छाड्ने कुराको टुंगो लाग्ने बताइन् ।
‘कुनै दोस्रो दलले पत्र पठाएर फिर्ता बोलाएको भरमा म राजिनामा दिन्न,’ लिम्बूले भनिन्, ‘यो सरकारमा पार्टीको आधिकारिक निर्णयबाट सहभागी भएको थिए । त्यसैले पार्टीको आधिकारिक कुरा नआई राजिनामा दिने कुरा रहदैन ।’
कोशी प्रदेशसभामा ९३ सदस्य छन् । तर, कुनै दलसँग एकल बहुमत छैन् । प्रदेशमा एमालेका ४०, कांग्रेसका २९, सभामुखसहित माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । केन्द्रमा यी दलहरुमध्ये एमाले र राप्रपा सरकार बाहिर छन् भने कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा एउटै सरकारमा छन् । कोशीमा भने परिस्थिति फरक छ । पुरानै गठबन्धनको सरकार छ ।
केन्दीय गठबन्धनमा रहेका दलहरुसँग कोशी प्रदेशमा ४७ सांसद छन् । तर, माओवादी केन्द्रका बाबुराम गौतम सभामुख भएकाले यो गठबन्धनलाई सरकार बनाउन मुस्किल छ । यता एमाले र राप्रपासँग ४६ सांसद छन् । एमाले र राप्रपाबीच चुनावीदेखि नै गठबन्धन छ ।
प्रदेश सभाबाट विश्वासको मत नपाएर एमाले नेतृत्वको सरकार ढलेको खण्डमा पनि कांग्रेस–माओवादी गठबन्धनसँग सरकार निर्माणका लागि आवश्यक बहुमत पुग्ने देखिँदैन ।