Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुनवर्षीमा भारतीय ब्राण्डको भन्दै स्थानीय धानको बीउ बिक्री



विराटनगर : मोरङमा भारतीय ब्राण्डको धान भन्दै स्थानीय धानको बीउ बिक्री गरेको पाइएको छ । आइतबार प्रहरीले जिल्लाको सुनवर्षी नगरपालिका–९ साहु टोलका रविनकुमार साहको घरमा स्थानीय धानलाई बोरामा ‘प्याकिङ’ गरेर भारतीय ब्राण्डको भन्दै कृषकलाई बिक्री गरेको फेला पारेको हो ।

प्रहरीका अनुसार उनले भारतीय ब्राण्डको स्टिकर लगाएको बोरामा ‘प्याकिङ’ गर्दै स्थानीय स्तरमा उत्पादन भएको धानलाई बीउका रूपमा कृषकलाई बिक्री गर्दै आएका थिए ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर चन्द्रबहादुर खड्का नेतृत्वको टोलीले घरमा छापा हान्दा रविनले भारत कोलकाताको प्यान सिड्स प्राइभेट लिमिटेड नामक कम्पनी उल्लेख गरिएको बोरामा सोही कम्पनीको स्टिकर टाँसेर स्थानीय धान ‘प्याक’ गर्ने गरिएको फेला परेको मोरङ प्रहरीका प्रवत्ता डीएसपी रञ्जनकुमार दाहालले बताए ।

प्रहरीले रविनको घरबाट बोरा सिलाउन प्रयोग गरिने मेसिन र खाली बोरा तथा स्टिकरसमेत बरामद गरेको छ । बोरा र स्टिकर नेपालमै बनाइएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रहरी स्रोतका अनुसार उनले उक्त धाको बीउ ‘प्याकिङ’ गरेर भारतीय ब्राण्डभन्दै २५ किलोको १ हजार ८ सयदेखि ३ हजार रूपैयाँसम्ममा बिक्री गर्ने गरेको खुलेको छ ।

रविनको घरमा बोरामा ‘प्याक’ गर्न तयारी अवस्थामा राखिएको स्थानीय स्तरमा उत्पादित धान ८ सय ४५ किलो, बोरामा ‘प्याकिङ’ गरिएको तयारी धानको बीउ २ सय ७५ किलो र झोलामा ‘प्याकिङ’ गरिएको ३० किलो तथा कोलकाताको कम्पनीको नाम उल्लेख गरिएको स्टिकर १ सय ७५ पिस र जुटको खाली बोरा १ सय २३ पिस, बोरा सिलाउने मेसिन, प्यारासुट सिलाई धागोसमेत बरामद भएको छ ।

डाईनिया स्थित विजय कुमार साहले संचालन गर्दे आएको मुकेश खाद बीज भण्डारबाट पनि सोही कम्पनी उल्लेखित बोरामा प्याकिङ गरी राखेको धानको बिउ २४ बोरा ६०० केजी बरामद गरेको प्रहरीले जनाएको छ ।

भारतीय ब्राण्डको भनेर धानको नक्कली बीउ बिक्री गर्ने रविन र उनकी पत्नी निशाकुमारी सिंहलाई प्रहरीले पक्राउ गरेको छ । विजयका बारेमा थप बुझ्ने र घटनाका सम्बन्धमा अनुसन्धान गर्ने काम भइरहेको डीएसपी दाहालले बताए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार