विराटनगर : कोशी प्रदेशको प्रदेशसभा सचिवालयले सांसदहरुलाई बाँड्न लागेको ल्यापटप सत्ता पक्षकै सांसदहरुले लिन अस्वीकार गरेका छन् । खोटाङबाट निर्वाचित प्रदेशसभा सदस्य पाँचकर्ण राई (पिके) ले आइतबार बिहान सामाजिक सञ्जालमा लेख्दै प्रदेशसभाले वितरण गर्न लागेको ल्यापटप नलिने घोषणा गरेका हुन् ।
उनले सबै प्रदेश सांसदहरुलाई प्रदेशसभाबाट वितरण हुने ल्यापटप अस्वीकार गर्न आग्रहसमेत गरेका छन् । ‘प्रदेशसभावाट वितरण हुने ल्यापटप हामी सवैले अस्वीकार गरौँ,’ उनले लेखेका छन् ।
सांसदलाई ल्यापटप किन्न छुट्याइएको रकम कृषि क्षेत्रमा खर्च गर्न राईले सरकारलाई सुझाव दिएका छन् । उनले भनेका छन्, ‘बरू कृषकलाई मलवीउमा सो रकम, तत्काल अनुदानमा प्रदान गरौ।’
प्रदेशसभा सचिवालयले प्रदेशसभाका ९३ सांसद र ७ वटा संसदीय समितिका सचिवका लागि भन्दै एक सय वटा ल्याप्टप खरिद गर्न टेन्डर आह्वान गरेपछि ल्यापटप खरिद प्रकरणको तीब्र आलोचना भएको छ ।
नेपाली काँग्रेस संसदीय दलको बैठकले ल्यापटप नलिने निर्णय गरिसकेको छ भने माओवादीका केही सांसदहरुले पनि सार्वजनिक रुपमै ल्यापटप नलिने घोषणा गरिसकोका छन् ।
प्रदेश सरकारले रकामान्तर गरेर प्रदेशसभा सचिवालयलाई एक करोड ५० लाख रुपैयाँ बजेट उपलब्ध गराएपछि प्रदेशसभा सचिवालयले ल्यापटप खरिद प्रकिया अगाडि बढाएको छ ।