Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

राम रानाको गाडीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न एमाले उदयपुरको माग



विराटनगर : नेकपा एमालेका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा संसदीय दलका उपनेता राम रानाको गाडीमाथि भएको आक्रमणप्रति एमाले उदयपुर जिल्ला कमिटीले आपत्ति जनाएको छ ।

बुधबार एमाले जिल्ला कमिटि इलामको बैठकका लागि माङ्सेबुङ्ग जाँदै गर्दा माङ्सेबुङ गाउँपालिका ३, घर्तीदोभानमा रानामाथि आक्रमणको प्रयास गर्दै गाडीमा ढुङ्गामुढा गरेको घटनाप्रति एमालेले पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

बिहीबार एमाले उदयपुरका अध्यक्ष परमेश्वर घिमिरेले विज्ञप्ति निकाल्दै कोशी प्रदेशका विभिन्न जिल्लामा पहिचानका नाममा उच्छृङ्खल समूहले हिंसात्मक गतिविधि गरिरहेको र खासगरी नेकपा एमालेका नेताहरूलाई निशाना बनाइरहेको भन्दै निन्दा व्यक्त गरेका छन् ।

उनले घटनाको छानबिन गरी दोषीलाई तत्काल कानुनको दायरामा ल्याएर कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

पछिल्लो समय पहिचानसहित प्रदेशको नामकरण गर्न माग गर्दै आएको समूहको आक्रमणबाट राना सवार बा २ झ ३७३७ नम्बरको गाडिको सिसा फुटेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार