Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सार्वजनिक जग्गा संरक्षण गर्दै त्रियुगा



उदयपुर : उदयपुरको त्रियुगा नगरपालिकाले सार्वजनिक तथा पर्ती जग्गा संरक्षण अभियान सुरु गरेको छ । त्रियुगा नगरपालिकाले जिल्ला अदालत उदयपुर र उच्च अदालतको आदेश बमोजिम वडा नं. १२ मा सार्वजनिक जग्गामा बनेका घर टहरा हटाउन सुरु गरेको हो ।

स्थानीय सरकार संचालन ऐनको दफा ११ बमोजिम सार्वजनिक ऐलानी तथा पर्ती जग्गाको रेखदेख, संरक्षण र उपभोग गर्नु भन्ने सम्मानित अदालतको आदेश बमोजिम जग्गा खाली गरिएको त्रियुगा नगरपालिकाले जनाएको छ । स्थानीय सनावती चौधरी, महाविर चौधरी, प्रमिला चौधरी, निर्मला चौधरी र रमेश चौधरीको घर तथा टहरा हटाउन पटक पटक सार्वजनिक सुचना जारी गर्दा पनि अटेर गरेपछि नगरपालिकाले वल प्रयोग गरेर घर टहरा हटाएको नगरप्रमुख बसन्त कुमार बस्नेतले जानकारी दिए ।

जिल्ला अदालत उदयपुरको २०७४ फागुन २० गते र उच्च अदालत विराटनगर अस्थायी ईजालास ओखलढुगाको २०७६ भदौ २४ गतेको प्रतिवादीहरुले करिब ९ कठ्ठा सार्बजनिक जग्गामा बनाएको घर टहरा खाली गर्न आदेश भएकाले जग्गा खाली गरिएको कार्यवाहक वडाध्यक्ष अनिता थापाले बताइन् । खाली जग्गामा नगर कार्यपालिकाद्धारा वडा कार्यालय र सहरी विकास कार्यालयको भवन निर्माण गरिने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार