Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रोजगार केन्द्रित बजेट निर्माण गरौँ, ल्यापटप हामी आफै किन्छौ : सांसद उप्रेती



गणेश उप्रेती ‘शुशिल’

विराटनगर : कोशी प्रदेशको प्रदेशसभा सचिवालयले सांसदहरुका लागि ल्यापटप खरिद गर्ने भएको छ । प्रदेशसभा सचिवालयले प्रदेशसभाका ९३ सांसद र ७ वटा संसदीय समितिका सचिवका लागि भन्दै एक सय वटा ल्याप्टप खरिद गर्न लागेको हो ।

ल्यापटप खरिदका लागि संसद सचिवालयले टेण्डरसमेत आव्हान गरेका छ । तर, ल्यापटप खरिद प्रक्रियाप्रति नेकपा माओवादी केन्द्रका कोशी प्रदेश सचिव तथा प्रदेशसभा सदस्य गणेश उप्रेती (शुशिल) ले असन्तुष्टि व्यक्त गरेका छन् ।

देश आर्थिक संकटको मारमा रहेको बताउँदै उप्रेतीले अहिलेको सरकार रोजगार केन्द्रित हुनुपर्ने बताए । उनले भने, ‘देश यतिबेला विषम परिस्थितिमा छ, आर्थिक मन्दी छाइरहेको बेला सांसदलाई ल्यापटप दिने कुरा गलत हो, यो रोक्नुपर्छ ।’

पूर्वेलीप्रेससँगको संक्षिप्त कुराकानीमा उनले ल्यापटप आफूहरुले नै किनेर चलाउने बताए । ‘ल्यापटप हामी आफै किन्छौ,’ उप्रेतीले भने, ‘बरु सरकारले सांसदलाई ल्यापटप किन्न छुट्याएको बजेट युवाहरुलाई रोजगारी सिर्जना गर्न खर्च गरोस !’

मुलुक आर्थिक संकटको अवस्थामा रहेको बेला कस्तो बजेट ल्याउनुपर्छ भन्ने विषयमा बहस केन्द्रीत गर्न उनले सरकारलाई आग्रहसमेत गरेका छन् । उनले भने- ‘मुलुकलाई आर्थिक संकटबाट जोगाउन आयातमुखी नीति र रोजगार दिने खालका नीति ल्याउन आवश्यक छ ।’ आगामी आर्थिक वर्षको बजेट उत्पादनशील क्षेत्रलाई समेटेर ल्याउनुपर्ने बताउँदै सांसदलाई ल्यापटप दिने प्रक्रियाबाट पछि हट्न सरकारलाई सुझावसमेत दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार