विराटनगर : नेकपा एमालेका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा संसदीय दलका उपनेता राम रानाको गाडीमाथि भएको आक्रमणप्रति एमालेले आपत्ति जनाएको छ । बुधबार एमाले जिल्ला कमिटि इलामको बैठकका लागि माङ्सेबुङ्ग जाँदै गर्दा माङ्सेबुङ गाउँपालिका ३, घर्तीदोभानमा रानामाथि आक्रमणको प्रयास गर्दै गाडीमा ढुङ्गामुढा गरेको घटनाप्रति एमालेले पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कोशी प्रदेशका विभिन्न जिल्लामा पहिचानका नाममा उच्छृङ्खल समूहले हिंसात्मक गतिविधि गरिरहेको र खासगरी नेकपा एमालेका नेताहरूलाई निशाना बनाइरहेको भन्दै एमालेले घटनाको निन्दा गरेको छ ।
एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले विज्ञप्ती जारी गरी घटनामा संलग्नहरूलाई तुरुन्त पक्राउ गरी कानुनी कारवाही गर्न र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेका छन् ।
“संवैधानिक व्यवस्था, ऐन र कानुनी प्रक्रियाबाट प्रदेश सभाले कोशी प्रदेश नामाकरण गर्ने निर्णय गरेको र असहमत समूहले विरोधमा कोशी प्रदेशमा हिंसात्मक गतिविधि सञ्चालन गरिरहे पनि सरकारले त्यस्ता गतिविधि नियन्त्रण गर्न ध्यान दिएको देखिँदैन । हाम्रो पार्टी घटनामा संलग्नहरूलाई तुरुन्त पक्राउ गरी कानुनी कारवाही गर्न र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग जोडदार माग गर्दछ,” विज्ञप्तीमा भनिएको छ ।
पहिचानसहित प्रदेशको नामकरण गर्न माग गर्दै आएको समूहको आक्रमणबाट राना सवार बा २ झ ३७३७ नम्बरको गाडिको सिसा फुटेको छ ।
यसअघि आक्रमणको उक्त प्रयासप्रति एमाले संसदीय दलको कार्यालयले पनि घोर निन्दा र भर्त्सना गर्दै संलग्नलाई कारबाहीको माग गरेको छ ।