Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङमा मदन-आश्रितको ३० औं स्मृति दिवस मनाइयो



विराटनगर : मोरङमा नेकपा एमालेका तत्कालीन महासचिव तथा जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको ३० औं स्मृति दिवस मनाइएको छ ।

बुधबार मदन भण्डारी फाउन्डेसन र एमाले जिल्ला कमिटी मोरङको आयोजनामा पार्टी कार्यालयमा मदन-आश्रितको तस्बिरमा माल्यार्पण गरिएको हो ।

कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज राजेन्द्रप्रसाद गौतम, स्थायी कमिटी सदस्य लालबाबु पण्डित, प्रदेश अध्यक्ष तुलसी न्यौपाने, केन्द्रीय सदस्य जीवन घिमिरे, विनोद ढकाल, रामलाल शाहलगायतका नेताहरू सहभागी थिए ।

२०५० साल जेठ ३ गते चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा भएको जिप दुर्घटनामा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको मृत्यु भएको थियो ।

कार्यक्रममा नेपाली कम्युनिस्ट आन्दोलनका पुराना नेता लब प्रधानले पञ्चायती प्रक्रियावादीहरुलाई परास्त गर्न मदन भण्डारीको उल्लेख योगदान रहेको बताए ।

कार्यक्रममा सहभागीहरुले स्व. भण्डारीको विचार र सिद्धान्त वर्तमान समयमा पनि उत्तिकै सान्दर्भिक रहेको बताए । कम्युनिष्टहरु नागरिकबाट चुनिएर सत्तामा पुग्नुपर्छ भन्ने मान्यताका पक्षपाती भण्डारीले जनताको बहुदलीय जनवादको विकास गरेको उनीहरुको तर्क थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार