काठमाडौं : ज्यान मुद्दामा पक्राउ परेर अदालतबाट दोषी करार भई डिल्लीबजारस्थित कारागारमा जन्म कैदको सजाय भुक्तान गरिरहेका रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतले सुनाएको फैसला सदर गरेको छ।
न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले मंगलबार चौधरीलाई जेलमै राख्ने फैसला सदर गरेको हो। इजलासले भनेको छ- अभियोग दाबीबाट सफाइ पाउँ भनी प्रतिवादीहरूले दिएको पुनरावेदन जिकिर पुग्न सक्दैन।
सोही मुद्दाका आरोपी सिताराम चौधरी र गंगाराम चौधरीले सफाइ पाएका छन् ।
७ भदौ २०७२ मा थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मीको ज्यान जाने गरी भएको हिंसात्मक घटनामा चौधरीको संलग्नता पुष्टि भएपछि उच्च अदालत दिपायलले जन्म कैदको सजाय सुनाएको थियो।
१० दलीय गठबन्धनमा आबद्ध चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टीबाट हाल उनकी धर्मपत्नी रञ्जिता श्रेष्ठ चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा हाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको जिम्मेवारी सम्हालिरहेकी छन्।