Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराट–बर्जु हाफ म्याराथन प्रतियोगिता हुने



विराटनगर : मोरङको भेडियारीस्थित ऐतिहासिक विराट राजाको दरवार क्षेत्रदेखि सुनसरीको बर्जु तालसम्म हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्ने भएको छ। कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयको अयोजनामा लगभग २३ किलोमिटर दौड हुने जनाइएको छ ।

प्रतियोगिताबारे सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले प्रतियोगिताको सम्पूर्ण तयारी तीव्र पारिएको जनाएको छ। प्रतियोगितामा सहभागी हुनेहरुले मोरङ एथलेटिक्स संघमा नाम दर्ता र संकलन गर्न मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयका सचिव डा. सञ्जीव राईलेका अनुसार प्रतियोगितामा सहभागिता जनाउने धावकको विवरण उपलब्ध गराउन कोसी प्रदेश प्रहरी कार्यालय विराटनगर, सुनसरीको पकलीमा रहेको सशस्त्र प्रहरीको वराह बाहिनी मुख्यालय, नेपाली सेनाको पूर्वी पृतना हेड क्वाटर इटहरी, ७ वटै प्रदेश तथा कोसी प्रदेशका १४ वटै जिल्लाका एथलेटिक्स संघलाई पत्राचार गरिसकिएको छ। अन्य इच्छुकले पनि म्याराथनमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ। धावकको नामावली दर्ताको समय अगामी जेठ ४ गते दिउँसो ४ बजेसम्मका लागि तोकिएको राईले बताए।

स्वकीय सचिव कपिल सुनारका अनुसार प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्धितीय हुनेले ७५ हजार र तृतीय हुनेले ५० हजार नगद पुरस्कार पाउने छन्। त्यसबाहेक ३ जनालाई जनही १५ हजार रूपैयाँका दरले सान्त्वना पुरस्कार प्रदान गरिने छ ।

यस्तै महिलातर्फ ५ किलोमिटरको सडक दौड पनि आयोजना गरिने छ। त्यसमा प्रथमले २५, द्वितीयले २० हजार र तृतीय हुनेले १५ हजार रूपैयाँ नगद पुरस्कार पाउने छन्।

प्रतियोगिता आयोजना र सम्पन्न गर्नका लागि मन्त्रालयका सचिव डा. राईको संयोजकत्वमा १४ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। नेपाल र सशस्त्र प्रहरीका प्रदेश प्रमुखहरू डीआईजी राजेशनाथ बास्तोला र अन्जनीकुमार पोखरेललगायत समितिका सदस्य छन्। राईका अनुसार प्रतियोगिता सम्पन्न गर्न १० लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार