घुर्मी–कुमलटार–कुनाइघाट जोड्ने ट्रयाकको निर्माण कार्य हुँदै । तस्बिर सौजन्य : ताप्ली गाउँपालिकाका अध्यक्ष ढुंगराज बिक
उदयपुर (रुपाटार) : उदयपुरको उत्तरी पहाडी पालिकालाई सगरमाथा राजमार्गसँग जोड्न ८ किलोमिटरको नयाँ ट्रयाक निर्माण सुरु भएको छ । जिल्लाको ताप्ली गाउँपालिकालाई कटारी नगरपालिकाको घुर्मी बजारसम्म जोड्नका लागि घुर्मी–कुमलटार–कुनाइघाट सडक निर्माणको काम सुरु भएको हो ।
यो सडकले उदयपुरको ताप्ली, लिम्चुङबुङ र उदयपुरसँग सिमाना जोडिएका खोटाङका नागरिकहरुलाई समेत छोटो दुरी मार्फत संघीय राजधानी काठमाडौ आवातजावत गर्न सहज बनाउने ताप्ली गाउँपालिकाका अध्यक्ष ढुंगराज बिकले बताए ।
अहिले बेसीगाउँबाट सडक निर्माणको काम थालिएको उनले बताए । यो सडक सुनकोशी नदिको किनारबाट निर्माण हुनेछ ।
कोशी प्रदेश पूर्वाधार विकास मन्त्रालयअन्तरगतको पूर्वाधार विकास कार्यालय उदयपुरले चालु आर्थिक वर्षमा २ करोड बजेटबाट ८ किलोमिटर ट्रयाकको काम सुरु गरेको कार्यालयका प्रमुख शम्भु राईले जानकारी दिए । घुर्मी–कुनाईघाट खण्डको २५ किलोमिटर नयाँ कच्ची सडक बनाउनुपर्ने भए पनि रहेकोमा चालु वर्षमा ८ किलोमिटर मात्र निर्माण गर्ने गरी २ करोड विनियोजन गरेर ठेक्का लगाएको राईले बताए ।
असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी निर्माण कम्पनी डिसी–दोभान–डिआर वेबीले करसहित १ करोड ७२ लाखमा ठेक्का लिएर काम सुरु गरेको हो ।
ताप्लीको रुपाटार र कटारीको सोरुङ छविसे जोड्ने बेँसीगाउँदेखि कुमालटारसम्मको करिब ६ किलोमिटर सडक भने यसअघि नै सञ्चालनमा आइसकेको छ । यो भाग घुर्मी–कुनाईटार खण्डको बीच भागमा पर्छ ।
सडक निर्माण कम्पनीले तोकिएकै समयमा निर्माण कार्य सम्पन्न गर्ने बताएको छ । उक्त कम्पनीका प्राविधिक हेम दाहालका अनुसार तोकिएकै समयभित्र सडक निर्माण सक्ने गरी सबै यन्त्र उपकरण र जनशक्ति लगाएर काम भइरहेको छ ।
गाउँपालिका अध्यक्ष विक उक्त सडकको निर्माणले आफ्नो पालिकाका साथै जिल्लाका पश्चिम तथा उत्तरी भेगका नागरिक लाभान्वित हुने बताउँछन् ।
उक्त क्षेत्रमा सडक निर्माण सुरु भएसँगै स्थानीयवासी खुसी भएका छन् । ‘पहिला यहाँका उत्पादन बजारसम्म पु¥याउन, बजारबाट खाद्यान्न ल्याउन मात्र होइन, बिरामी हुँदा डोकोमा बोकेर उपचारका लागि लानु पथ्र्यो, कटारी १० का पूर्ण सुनुवार भन्छन्, ‘अब मोटर गाडी आएपछि त हाम्रो समस्या पनि हट्दै जान्छ होला ।’
सडकमा ट्रयाक खुलेसँगै ताप्ली, लिम्चुङबुङ र कटारी १० मा उत्पादन भएका कृषि उपज सहज रुपमा बजार पाउनेमा स्थानीय किसानहरु आशावादी भएका छन् ।
उक्त सडकको निर्माण कार्य सम्पन्न भएपछि उदयपुरका पश्चिम तथा उत्तरी भेगका नागरिकका सहज हुने कटारी १० का वडा अध्यक्ष क्षेत्रबहादुर खड्काले बताए । उनले भने, ‘स्थानीयले उत्पादन गरेको सामाग्रीहरु पनि सहजै बजारमा पुर्याउन सक्छन्, उनीहरुमा अझै उत्साह थपिदै जान्छ । यहाँका हजारौँ नागरिकलाई यातायात सुविधासहित राहत हुनेछ ।’