Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

वन नियमावली चाँडै जारी गर्छौं : मन्त्री आचार्य



विराटनगर : कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले वन नियमावली चाडैँ जारी हुने बताएका छन् । बुधबार मन्त्रालयले आयोजना गरेको वन नियमावलीको मस्यौदा माथि छलफल कार्यक्रममा बोल्दै मन्त्री आचार्यले प्रदेशबाट स्वीकृत भएको प्रदेश वन ऐन, २०७७ कार्यान्वयन हुने बताए ।

नियमावली बनेर समयमा जारी नहुदाँ फिल्डस्तरमा ऐन कार्यान्वयनमा बाधा परेको र संघीय वन, नियमावलीमा अस्पष्ट भएका विषयमा प्रदेशमा बन्ने नियमावलीमा विभिन्न विषय समावेश गरी नियमावली जारी गर्ने छलफल तीव्र पारेको उनले बताए ।

जिल्ला स्तरमा ऐन कार्यान्वयमा भएका विविध समस्याका सन्दर्भमा उपभोक्ता समूह तथा मातहतका कार्यालयबाट सुझाव आएकाले कानुन निर्माणमा ढिलाई गर्न नहुने भन्दै मन्त्री आचार्यले सुझाव तथा समस्या समाधानका लागि मन्त्रालय सधैँ तत्पर रहेको बताए । उनले आफ्नो कार्यकालमा ऐन, नियमावली, निर्देशिका लगायतका नितिगत तहबाट हुने काममा पहलकदमी गर्ने बताए ।

संघीय ऐनमा भएका विविध अस्पष्टतालाई संशोधन गर्नका लागि प्रदेश सरकारबाट गर्नुपर्ने पहलमा पनि सुझाव दिन मातहतका कार्यालयलाई मन्त्री आचार्यले निर्देशन दिएका छन् ।

वैज्ञानिक वन कार्यविधि खारेजीपछिको समस्या, नदिजन्य पदार्थको व्यवस्थापन,काठ दाउरा व्यवस्थापन तथा पुराना घरको काठ स्थानान्तरण लगायतको सन्दर्भमा छिट्टै नियमावलीलाई अन्तिम रुप दिन अन्य सरोकारवालाहरु सँग छलफल तथा अन्तक्रिया गर्ने मन्त्रालयले जनाएको छ ।

छलफलमा मन्त्रालयका सचिव डा. सञ्जिव कुमार राई, वन निर्देशक धनन्जय लामिछाने, १५ वटै डिभिजन वन कार्यालयका प्रमुख एवं वन वातावरण क्षेत्रमा काम गर्ने कार्यालयका प्रमुखहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार