काठमाडौं : ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएका एमाले सचिव टोपबहादुर रायमाझीबारे टिप्पणी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री जस्तो पदमा पुगिसकेको व्यक्तिलाई बाटैबाट पक्राउ गर्न खोज्नु रहस्यमय रहेको बताएका छन्।
बिहीबार दिउँसो सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर बाहिरिँदै गर्दा ओलीले पत्रकारहरुसँग छोटो प्रतिक्रिया दिँदै यस्ताे बताएका हुन्।
‘चार वर्षअगाडि चेक काटेको छ। त्यो पनि उसैसँग रहेको कुरा छ। एउटा सांसद, उपप्रधानमन्त्री भइसकेको पार्टीको नेता षड्यन्त्रपूर्ण ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनु रहस्यपूर्ण छ। भागेर जाने कुरा होइन।’
उनले शरणार्थी प्रकरणमा दोषीलाई बचाउन नहुने र निर्दोषीलाई फसाउन नहुने बताए। जिल्ला अदालत काठमाडौँले बुधबार पक्राउ पुर्जी जारी गरे पनि रायमाझी अहिलेसम्म पक्राउ परेका छैनन्।