विराटनगर : सरकारी सहीछाप र दस्तखत किर्ते मुद्दामा अदालतबाट दोषी ठहर भएकी कोशी प्रदेशकी पूर्वसांसद गुलेफुन खातुन कारागार चलान भएकी छन् ।
अदालतमा मुद्दा परेपछि खातुन फरार भएकि थिइन् । पहिलो प्रदेशसभामा नेकपा एमालेको तर्फबाट समानुपातिक सांसद रहेकी खातुन शुक्रबार आफैँ जिल्ला अदालत मोरङमा उपस्थित भएकी थिइन् ।
जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार उनलाई कैद भुक्तानका लागि शुक्रबार नै मोरङ जिल्ला कारागार चलान गरिएको छ ।
सरकारी सहीछाप किर्ते मुद्दामा २०७४ वैशाख ३१ गते तत्कालीन जिल्ला अदालत मोरङका जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले सांसद खातुनसहित उनका श्रीमान शेख शिलबर मियाँ, तत्कालीन गाविसका कर्मचारी विजय कामत र दीपचन्द मण्डललाई एक वर्ष कैद र ५० रुपैयाँ जरिबानाको फैसला सुनाएको थियो ।
उक्त फैसलाविरुद्ध खातनुले उच्च अदालत विराटनगरमा पुनरावेदन दिएकी थिइन् । तर, उच्च अदालतले पनि जिल्लाकै फैसला सदर गरेको थियो । सर्वोच्च अदालतलेसमेतले उनको निवेदनमा ०७९ जेठ २५ मा निस्सा नदिने आदेश दिएको थियो ।
कामत र मण्डललाई कर्मचारी भएका कारण थप दुई वर्ष सजायको फैसला भएको थियो ।
मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५५ मा एक वर्षसम्म कैद सजाय तोकिएका मानिसले दिनको ३०० रुपैयाँ शुल्क तिरेर बाहिर बसेर कैद भुक्तान गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार निवेदन लिएर खातुन अदालतमा हाजिर भएकी थिइन् । अदालतले उनको निवेदनको सुनुवाइ अर्काे साता गर्ने जनाएको छ ।
मोरङको साविक कदमाह गाउँ विकास समिति वडा नम्बर २ (हाल कटहरी–९) मा मधुसुधनराज पाण्डेको तीन बिगाह १० कट्ठा जग्गामा खातुनका ससुरा शेख धाइका मियाँको मोही हक रहेकोमा खातुनले तीन बिगाह १० कट्ठा मोही जग्गा पाउन भन्दै २०७१ चैत ४ गते तत्कालीन कदमाह गाउँ विकास समितिका सचिवको सिफारिस ल्याएकी थिइन् ।
एउटै दर्ता नम्बरका दुईवटा सिफारिस लिएको फेला परेपछि सरकारी कागजात किर्ते गरेको पुष्टि भएको थियो ।