विराटनगर : झापामा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास भएपछि पहिचानवादी समूहको चौतर्फी आलोचना सुरु भएको छ । बुधबार ओली सहभागी हुने कार्यक्रमस्थल बाहिर कोशी नामकरणा खारेजीको माग गर्दै आन्दोलनरत पक्षले प्रदर्शन गरेपछि झडप समेत भएको थियोे ।
कार्यक्रमा जान खोज्दा उनीहरूलाई प्रहरीले रोकेको थियो । त्यसक्रममा ढुंगामुढा गरेपछि प्रहरीले लाठी चार्ज गरेको थियो ।
ओलीलाई कालो झण्डा देखाउने नाममा झापाको बुद्धशान्ति गाउँपालिकाको बुधबारे बजार क्षेत्रमा पहिचानवादीको ब्यानरमा भएको अभद्र ब्यवहार खेदजन्य घटना भएको भन्दै एमाले झापा जिल्ला कमिटीले विज्ञप्ति निकालेको छ ।
जिला अध्यक्ष दीपक कार्कीले आज साँझ विज्ञप्ति निकाल्दै प्रदेशसभा सदस्यहरुको ९० प्रतिशतभन्दा बढीको समर्थनमा ‘कोशी प्रदेश’ नामाकरण गरिएको भन्ने कुरालाई चटक्कै बिर्सिएर सम्माननीय पूर्व प्रधानमन्त्रीमाथि अभद्र ब्यवहार गर्नु निन्दनीय भएको उल्लेख गरेका छन् । एमालेले पहिचानवादीका नाममा गरिने यसप्रकारका अलोकतान्त्रिक र असभ्य चरित्रको घोर भत्सर्ना गर्ने कार्कीले बताए ।
‘कोशी’ नाममा प्रदेशका सबै जातजातिको पहिचान अटाएको उनलेे उल्लेख गरेका छन्। ‘धेरै जातजाति र पहिचान भएको ठाउँमा एकल जातीय पहिचानलाई समेट्नु भन्नु आफैंमा असान्दर्भिक तर्क हो । एकल पहिचान खोजेर राष्ट्रिय एकतालाई खलबलाउनु उचित हुँदैन । अझ प्रदेशको नाम संविधान बमोजिम जननिर्वाचित संसदको बहुमतले पारित गरेकोले यसको विरोधका नाममा हुलहुज्जत गर्नु ठिक नभएको हाम्रो निश्कर्ष छ’ विज्ञप्तिमा भनिएको छ ।
एमाले अध्यक्ष ओलीमाथि अभद्र व्यवहार गर्न खोज्नेहरुलाई रोक्नेक्रममा, कर्तव्य निर्वाहको शिलशिलामा घाइते भएका प्रहरीको उनले स्वास्थ्य लाभको कामना गरेका छन् ।
विरोधका नाममा हुलहुज्जत गर्ने र सुरक्षाकर्मी माथि ढुंगा हान्नेलाई तत्काल पक्राउ गरी कडा कारबाहीका लागि उनले सरकारसँग जोडदार मागसमेत गरेका छन् ।