विराटनगर : नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले प्रतिनिधिसभाको उपनिर्वाचनको परिणामले कांग्रेसलाई सच्चिएर अघि बढ्न सन्देश दिएको बताएका छन् ।
विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै नेता कोइरालाले उपनिर्वाचनमा पुराना पार्टीलाई भोट नगएर नयाँ पार्टीलाई जानुले युवाको चाहनाअनुसार अहिलेका पार्टीहरू नचलेको पुष्टि भएको बताए । नेपाली कांग्रेस युवाको भावनाअनुसार अगाडि नबढेकै कारण अहिलेको अवस्था आएको उनको भनाइ छ ।
कोइरालाले उपनिर्वाचनको मतपरिणाम हेर्दा कांग्रेस सच्चिनु जरुरी भन्दै अब युवाहरूलाई अवसर दिँदै जिल्लादेखि स्थानीय तह, वडा र टोलसम्म संगठन गर्नुपर्नेमा जोड दिए । मतदाता र युवाको मनोविज्ञान बुझ्न नसक्दा अहिलेको अवस्था आएको उनको बुझाइ छ । उनी भन्छन्, ‘अब कांग्रेस नयाँ ढंगले अगाडि बढ्नै पर्छ ।’
उपनिर्वाचनको मतपरिणामलाई लिएर पार्टीभित्र निर्मत समीक्षा हुने र हारको दोष एकजनामाथि थोपरेर अरु उम्किने अवस्था नरहेको उनले बताए ।