विराटनगर : पछिल्लो समय कोशी प्रदेशको नामकरण खारेजीको माग गर्दै भइरहेको आन्दोलनप्रति उद्योगी व्यवसायी असन्तुष्ट बनेका छन् । पहिचानवादीले गरेको आन्दोलनले दैनिक जीवनमा नकारात्मक प्रभाव परेको भन्दै उनीहरुले शान्तिपूर्ण निकास खोज्न आग्रह गरेका हुन् ।
मंगलबार उद्योग संगठन मोरङका अध्यक्ष सुयष प्याकुरेल, नेपाल उद्योग परिसंघ कोसीका अध्यक्ष भीम घिमिरे र मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले संयुक्त विज्ञप्ति जारी गर्दै नामाकरणको असन्तुष्ट पक्षले गरेको आन्दोलनले औद्योगिक क्षेत्रमा नकारात्मक प्रभाव परेको बताएका छन् ।
लामो समयको राजनीतिक अन्यौलतालाई समाप्त पार्दै जारी भएको संविधानको व्यवस्था अनुरुप प्रथम चरणमा सम्पन्न निर्वाचनबाट अन्य प्रदेशले नामाकंरण गर्न सफल भएतापनि प्रदेश नंं १ असफल भएको अवस्थालाई अन्त्य गर्दै बहुसंख्यक राजनीतिक दलहरूको साझा सहमतिमा दुइतिहाइ भन्दा बढी सदस्यबाट कोशी प्रदेश नामाकरण गर्न सफल भएको भन्दै उनीहरले मुख्यमन्त्री हिक्मत कार्कीलाई धन्यवाद दिँदै प्रशंसा गरेका छन् ।
‘विगत केही दिनदेखि प्रदेशको नामाकंरणका सम्वन्धमा असन्तुष्टि व्यक्त गर्दै विभिन्न चरणमा भइरहेको आन्दोलन र यसबाट शान्तिपूर्ण वातावरणमा उद्योगरव्यवसायरपेसा सञ्चालन गरी जिविकोपार्जन गर्न चाहने मानिसको दैनिकीमा परेको नकारात्मक प्रभावप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ संयुक्त रुपमा प्रकाशित विज्ञप्तिमा भनिएको छ ।
संवैधानिक व्यवस्था तथा निर्धारित विधि विधानबमोजिम नै सार्वभौम प्रदेश संसद्ले गरेको प्रदेशको नामाकरणका सम्बन्धमा चित्त नबुझेमा रचनात्मक र शान्तिपूर्ण माध्यमबाट सम्वन्धित पक्षसमक्ष आफ्नो असन्तुष्टि राख्न र समाधान खोज्न उनीहरुले आग्रह गरेका छन् ।