विराटनगर : नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद समापकोटा ‘दीपशिखा’ आफ्नै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको आलोचना गरेका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले सरकारको कामप्रति असन्तुष्टि जनाएका हुन् ।
उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउँदै सरकार असफल भए माओवादी पनि सकिने चेतावनी दिएका छन् । उनले लेखेका छन्, ‘आदरणिय पार्टी अध्यक्ष÷प्रधानमन्त्रीको ध्यानकर्षण होस् ! सरकार असफल हुँदा माओवादी पनि सकिन्छ ।’
वर्तमान सरकारले जुन उचाईबाट कार्यसम्पादन हुनुपर्ने हो त्यो नभईरहेको उनको तर्क छ । जतिबेला जनता, कार्यकर्ता र नेतलाई सरकार आफ्नो लाग्छ त्यतिबेला मात्रै सरकार सफल हुने उनले लेखेका छन् ।
ढ्याउँ गरेर डकारीरहेको सिंहदरबारलाई छाक टार्न लडिरहेका तल्लो तहका कार्यकर्ताहरुले संधै नबोक्ने उनले बताएका छन् ।
यस्तो छ दीपशिखाले लेखेको स्टाटस् :
आदरणिय पार्टी अध्यक्ष-प्रधानमन्त्रिको ध्यानकर्षण होस् ! सरकार असफल हॅुदा माओवादी पनि सकिन्छ, जुन उचाईबाट सरकारको कार्यसम्पादन हुनुपर्ने हो, भईरहेको छैन ।
यतिबेला मात्रै सरकार सफल हुन्छ जतिबेला जनता, कार्यकर्ता र नेतालाई आफ्नो जस्तो लाग्छ ।
ढ्याउॅ गरेर डकारीरहेको सिंहदरबारलाई छाक टार्न लडिरहेका तलकाहरूले संधै बोक्दैन है !