Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेश खेलकुद विकास बोर्डले भ्रष्टाचार गरेको आरोप



विराटनगर : कोशी प्रदेश, प्रदेश खेलकुद विकास बोर्डले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भ्रष्टाचार गरेको आरोपसहित अख्तियारमा उजुरी परेको छ । प्रतियोगिता सञ्चालनका क्रममा ट्र्याकसुट, मेडल, टेन्ट खेल सामग्री खरिद लगायतका विभिन्न शिर्षकमा भ्रष्टाचार गरेको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले राय प्रतिक्रियासहित प्रमाणित कागजात पठाउन बोर्डलाई पत्र पठाएको हो ।

खेलकुद विकास बोर्डविरुद्ध गत फाल्गुन १५ गते अख्तियारमा उजुरी परेको थियो । त्यसको केही दिन अर्थात फाल्गुन २२ गते उजुरीकासम्बन्धमा के कसो भएको हो ? भन्दै कार्यालयको स्पष्ट राय प्रतिक्रियासहित उजुरीका बुंदासंग सम्बन्धित कागजात १५ दिनभित्र पठाउन गोप्य आदेश दिएको थियो ।

यस्तो आदेश आएको दुई महिना पुग्न लाग्दासमेत सम्बन्धीत कार्यालयका कर्मचारीहरुलाई समेत थाहा दिइएको थिएन् । कार्यालय स्रोतका अनुसार बोर्डका सदस्य सचिव हंशराज वाग्लेले यो पत्रका बारेमा आफ्नै कार्यालयका कर्मचारीलाई समेत थाहा नदिई गुपचुप राखेका थिए ।

अख्तियारका शाखा अधिकृत कमल प्रसाद भट्टराईले हस्तारक्षर गरेर पठाएको पत्रमा निम्न बुँदामा सम्बन्धीत कागजात पठाउन आदेश दिइएको छ ः
१. खेलकुद प्रतियोगिताका निम्ति खेलाडीहरुलाई उपलब्ध गराउन खरिद गरिएको ४२०० थान ट्र्याकसुट खरिद तथा वितरणमा रकम हिनामिना गरेको भन्ने सम्बन्धमा ।
२. मेडल खरिद, प्रमाण पत्र छपाई, टेन्ट भाडा वापतको रकम हिनामिना तथा अनियमितता गरेको भन्ने सम्बन्धमा ।
३. खेलाडीलाई उपलब्ध गराईने दैनिक तथा भ्रमण भत्तामा कागज मिलाई हिनामिना गरेको भन्ने सम्बन्धमा ।
४. खेलकुद समान तथा सामग्री खरिदमा अनियमितता गरेको भन्ने सम्बन्धमा ।
५. बन्द प्रशिक्षणमा खेलकुद समान शिर्षकको ७ लाख, औषधि शिर्षकको ५ लाख र विविध शिर्षकको ५ लाख बिल मिलाएर हिनामिना गरेको भन्ने सम्बन्धमा ।
६. खेल सामग्री ढुवानीमा ३ लाख हिनामिना गरेको भन्ने सम्बन्धमा ।
७. उद्घाटन समारोहमा शैलेश विष्टले २० लाख खर्च देखाई रकम हिनामिना गरेको तथा निजले लिएको ४० लाख पेश्की बिल मिलाएर हिनामिना गरेको भन्ने सम्बन्धमा ।

प्रतिक्रिया
सम्बन्धित समाचार