Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रतुवामाईमा तीन दिनभित्र पाठ्यपुस्तक उपलब्ध गराउन ध्यानाकर्षण



विराटनगर : नयाँ शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यार्थीहरुलाई पाठ्यपुस्तक उपलब्ध नगराएपछि अनेरास्ववियु र युवा संघले रतुवामाई नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । आइतबार नगरपालिकाको कार्यालयमा ज्ञापन पत्र बुझाउँदै अखिल र युवा संघले तत्काल पाठ्यपुस्तक उपलब्ध गराउन ध्यानाकर्षण गराएका हुन् ।

नगरपालिकामा राजनीतिक खिचातानीका कारण रतुवामाईमा रहेका ४१ वटा सामुदायिक विद्यालयका करिब १० हजार विद्यार्थी पाठ्यपुस्तक पाउनबाट बञ्चित भएको अनेरास्ववियु रतुवामाईका अध्यक्ष प्रविन ढकालले बताए । उनले सीमित व्यक्तिको टकराबका कारण विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न नहुने बताए ।

यस्तै अनेरास्ववियुका मोरङका सचिव बिरेन्द्र घिमिरेले कर्णालीका दुर्गम जिल्लाहरुमा शैक्षिक सत्र शुरु हुनुभन्दा अगाडि नै पाठ्यपुस्तक पुगिरहँदा सुगम मानिने मोरङको रतुवामाईमा हालसम्म पाठ्यपुस्तन नहुँदा पठनपाठन प्रभावित हुँदै गएको बताए । ज्ञापनपत्र बुझाउदै घिमिरेले पाठ्यपुस्तक समयमै उपलब्ध नगराए कडा संघर्षमा उत्रिने चेतावनी दिए ।

नगरपालिकाको गैरजिम्मेवारीपनका कारण अझैसम्म विद्यार्थीले पाठ्यपुस्तक नपाएका कारण आफूहरु विद्यार्थीको पक्षमा उभिएको युवा संघका नगर अध्यक्ष मिलन श्रेष्ठले बताए ।

उनीहरुले नगरपालिकालाई तीन दिनभित्र सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि पाठ्यपुस्तक उपलब्ध गराउने वातावरण सिर्जना गर्न ध्यानाकर्षण गराएका छन् । आफूहरुले दिएको समयमा नगरपालिकाले कुनै काम सुरु नगरे आफूहरु जस्तो सुकै कदम चाल्न तयार रहेको उनीहरुले चेतावनीसमेत दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार