विराटनगर : सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर हेमकणै पौडेल शुक्रबार इटहरीको तरहरादेखि धरानको सेउतीसम्म सडक निर्माणको अवलोकनमा निस्किए । ठेकेदार कम्पनीले उक्त सडक निर्माणमा ढिलाई गरेको भन्दै उपमहानगरले छिटो निर्माण कार्य सम्पन्न गर्न ध्यानाकर्षण गराउँदै आएको थियो ।
तर, पटकपटक ध्यानाकर्षण गराउँदा समेत ठेकेदार कम्पनीले अवज्ञा गरेपछि शुक्रबार मेयरले ठेकेदार कम्पनीको गाडी नियन्त्रणमा लिएका छन् । चीन र भारतसँग जोड्ने सडक अन्तर्गत इटहरीको तरहरादेखि धरानको सेउतीसम्म सडक विस्तार सुस्त गतिमा भएको भन्दै इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेलले ठेकेदार कम्पनीको गाडी नियन्त्रणमा लिएका हुन् ।
यो सडकखण्डमा बाँकी रहेको ५.३ किलोमिटर सडकको विस्तार छिटो सक्न निर्माण कम्पनीलाई ध्यानाकर्षण गराउाँ पनि काम सम्पन्न नगरे गाडी नियन्त्रणमा लिएको मेयर पौडेलले बताए ।
‘संघीय सरकार मातहतको काम भइरहेको हो । तर, इटहरी उपमहानगरपालिका क्षेत्रको काममा स्थानीय सरकारका तर्फबाट हदैसम्म लचकता अपनाएर सडक चाँडो सक्न आग्रह गर्दा पनि सुनुवाइ नभएपछि अब ठेकेदार कम्पनीलाई लिखित प्रतिबद्धता जनाउन समय सीमा दिइएको छ,’ मेयर पौडेलले भने, ‘यदि तोकिएको समयमा पनि प्रतिबद्धता नआए प्रधानमन्त्री कार्यालय र भौतिक निर्माण मन्त्रालय पुगेर दबाब दिइनेछ ।’
मेयर पौडेलका अनुसार सडक निर्माण सम्पन्न गर्नका लागि २०८० सम्म समय अवधि थपिएको छ । ‘अब थपिएको समयमा पनि यही गतिमा काम नहुने निश्चित छ,’ मेयर पौडेलले भने, ‘छ लेन सडक विस्तार आयोजनाका निर्देशक दानकुमार शाक्यको भूमिका समेत प्रभावकारी नभएकाले सडक विस्तार सुस्त भएको हो ।
कोशी राजमार्गमा ४९ किलोमिटर सडकमध्ये अब तरहरादेखि धरानको सेउतीसम्म सडक विस्तार हुन बाँकी छ। बाँकी रहेको दुहवी बजारमा पनि नगरपालिकाले नगरपालिकाको जग्गा ओगटेर बनाएका चालीसवटा घर भत्काएको छ । घर भत्काएसँगै छ लेन सडक विस्तार गर्न अब दुहवी बजार क्षेत्रमा पनि सहज भएको छ।