विराटनगर : धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङ र वडाध्यक्षहरूको विवाद चर्किँदै गएको छ । विवाद बढ्दै गएपछि मेयर साम्पाङले वडा अध्यक्षहरुको राजीनामा माग गरेका छन् ।
सामाजिक सञ्जालमार्फत साम्पाङले आफूले भनेको नमान्ने भए राजीनामा दिएर बाटो खुला गरिदिन भनेका हुन् ।
वडा अध्यक्षहरु बैठकमा नआउँदा धरानको विकास रोकिएको उनले आरोप लगाएका छन् । उनले बैठकमा नआउने वडा अध्यक्षहरुको राजीनामा माग गरेका छन् । उनले लेखेका छन्, ‘धराने जनता हो… तपाइँहरुको बिकास रोकिने भयो ! अब वैठक नआउने वडाध्यक्षहरु सबैलाई राजिनामा दिन लगाउनु !’
वडा अध्यक्षको राजीनामा माग्दै उनले उपनिर्वाचन गरेर रिक्त वडा अध्यक्षहरुको पद पूर्ति गर्ने बताए । उनले भने, ‘म प्रकृया मिलाउन सघाउँछु ! अनि उप निर्वाचन गरेर रिक्त वडाध्यक्षहरुको पद पूर्ति गराएर धरानलाई अघि बढाउनु पर्छ !’
साम्पाङका स्वकीय सचिवको निर्देशनात्मक पत्राचारको विषयलाई लिएर वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरू असन्तुष्ट बनेका छन् । मेयर साम्पाङ निरंकुस बनेको र विधि प्रक्रिया मिचेर जथाभावी गर्न थालेपछि सबै वडाअध्यक्ष र कार्यपालिका सदस्यहरू बैठकमा सहभागी नभएको बताइएको छ ।
कार्यपालिकाका अधिकांश सदस्य र वडा अध्यक्षहरु उपस्थित नभएपछि गत मंगलबार बोलाइएको बैठक बस्न सकेको थिएन ।
मंगलवारको बैठकमा मेयर राई, उपमेयर बेघा, १४ नम्बर वडाका अध्यक्ष कृष्ण भट्टराई र प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईको मात्र उपस्थित थियो। धरानमा ३१ जनाको कार्यपालिका छ ।