विराटनगर : मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ९ स्थित जनता माध्यमिक विद्यालयले कक्षा १० सम्म नि:शुल्क अंग्रेजी माध्यमबाट पठनपाठन गराउने भएको छ ।
शैक्षिक सत्र २०८० का लागि नयाँ विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दै यस विद्यालयले कक्षा नर्सरीदेखि कक्षा १० सम्म अंग्रेजी माध्यममा पठनपाठन गराउने भएको हो ।
विद्यालयका प्रधानाध्यापक ईश्वर खनालका अनुसार विद्यालयमा हाल चार सय बढी विद्यार्थी अध्ययनरत छन् । नयाँ भर्ना हुने विद्यार्थीको संख्या पनि बढ्दै गएको उनले बताए । विद्यालयले कक्षा ८ सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्दै आएको थियो ।
विद्यालयको गुणस्तर सुधार गर्दै नीजि विद्यालयका विद्यार्थीलाई सामुदायिक विद्यालयमै निःशुल्क शिक्षा प्रदान गर्ने योजनामा विद्यालय अघि बढेको खनालले बताए । पछिल्लो समयमा निजी विद्यालयप्रति अभिभावकको झुकाव बढ्दै गएको समयमा जनता माविको यो निर्णयले स्थानीय अभिभावक र विद्यार्थीहरुमा उत्साह छाएको छ ।
गुणस्तरीय अंग्रेजी माध्यमबाट पठनपाठन सुरु भएपछि स्थानीय अभिभावकको सक्रियता र बालबालिकाको आकर्षण निश्चित रूपमा बढ्ने विद्यालयका पूर्व अध्यक्ष टुकबहादुर कार्कीले बताए । उनी भन्छन्, ‘हाम्रा अभिभावकले चर्को शुल्क तिरेर आफ्ना छोराछोरी निजी स्कुलमा पढाइरहेका छन् । हामीले कम्तीमा यति काम गर्दा धेरै अभिभावकलाई राहत पुगेको छ । विद्यार्थीको संख्या पनि विद्यालयमा बढेको छ ।’
अहिलेका धेरै विद्यार्थी र अभिभावकहरुको चाहना नै अङ्ग्रेजी माध्यमबाट पठनपाठन भएको हुँदा विद्यालयले कक्षा १० सम्म अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गरेको कार्कीको भनाइ छ ।