Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीका सामाजिक विकासमन्त्री राजभण्डारीको घरमा तोडफोड, दोषीलाई कारबाही गर्न एमालेको माग



विराटनगर : कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीको घरमा तोडफोड भएको छ । उनको काठमाडौंको पेप्सिकोलास्थित घरमा नामकरणविरुद्ध असन्तुष्ट पक्षले तोडफोड गरेका हुन् ।

बुधबार विहान राजभण्डारीको निवासमा पहिचान पक्षधरहरु प्रवेश गरेर तोडफोड गरेको नेकपा एमाले सोलुखुम्बुले जनाएको छ । उनी सोलुखुम्बुबाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

मन्त्री राजभण्डारीको घरमा तोडफोड भएपछि एमाले सोलुखुम्बुले निन्दा गर्दै विज्ञप्ति जारी गरेको छ ।

यस्तो छ विज्ञप्ति :
सोलुखुम्बु जिल्लाबाट निर्वाचित हाम्रो पार्टी नेकपा एमालेका नेता कोशी प्रदेशका सामाजिक विकास मन्त्री माननिय बुद्धिकुमार राजभण्डारीको काठमाडौं पेप्शीकोलास्थित घरमा आज बिहान (२०७९/१२/२९ गते अन्दाजी ८:३० बजेको समयमा छापामार शैलीमा केही व्यक्तिहरु प्रवेश गरी तोडफोड गरेको घटनाले हामीलाई दुखित बनाएको छ । कोशी प्रदेश नामाकरणको विषयलाई लिएर व्यक्तिको निजि सम्पती माथि गरिएको भौतिक आक्रमण अत्यन्त निन्दनीय र खेदजनक छ । कोशी प्रदेश नामाकरणको विषय राजनीतिक विषय हो र राजनीतिक विषयलाई राजनीतिक रुपमै समाधान गरिनुपर्दछ । परिवार र समाजलाई डर, धाकधम्की देखाउँदै आतति पार्ने गरी गरिएको यसप्रकारको आपराधिक आक्रमणले बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक पहिचान झल्किने सामाजिक सदभाव सहित मिलेर बसेको हाम्रो समाजलाई विभाजित गर्ने र मुठभेड सम्मको स्थिती सिर्जना गर्न सक्दछ । तसर्थ सस्तो लोकप्रियताको लोभमा गरिएका यि र यस्ता प्रायोजित प्रोपोगाण्डाहरु यथासिघ्र बन्द गरी समस्या समाधानको बाटोमा लाग्न सम्बन्धित पक्षमा आग्रह गर्दै तोडफोडमा संलग्नहरुलाई प्रचलित कानुन बमोजिम कारबाहीका लागि सरकार समक्ष अनुरोध गरिएको छ ।

डुफ कुमार वास्तोला
अध्यक्ष

प्रतिक्रिया
सम्बन्धित समाचार