Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

माधव नेपालको पार्टीका वरिष्ठ नेता मुकुन्द न्यौपाने त्यागे एकीकृत समाजवादी, एमाले जाने तयारी



विराटनगर : माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन् । शनिबार दिउँसो पत्रकार सम्मेलनको आयोजना गरी उनले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

न्यौपाने एकीकृत समाजवादी पार्टीको तेस्रो वरियताको नेता हुन् । पहिलो नम्बरमा पार्टी अध्यक्ष नेपाल र दोस्रोमा झलनाथ खनाल छन् ।

तत्कालीन नेकपा विभाजनपछि एमाले फुट्दा उनी माधव नेपालसँग गएका थिए । तर, पछिल्लो समय उनले एमालेसँग पार्टी एकीकरण गर्नुपर्ने मुद्धा उठाउँदै आएका छन् ।

न्यौपानेले एमालेसँग पार्टी एकीकरण गर्ने माग गर्दा पार्टीले उनीमाथि स्पष्टीकरण समेत सोधेको थियो ।

पार्टी परित्याग गर्दै अब उनले एमालेमै फर्किएर काम गर्ने संकेत गरेका छन् । देशभरका नेता कार्यकर्ता समेटेर एमालेमा समाहित हुने तयारी रहेको उनले बताएका छन् ।

हाल नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई एमलेले सम्मानित पद दिए एमालेमा नै फर्किने मनस्थितिमा रहेको उनको दाबी छ ।

“नेकपा (एकीकृत समाजवादी)ले परिचय दियो, तर पहिचान दिन सकेन । सदैव आफ्नो–आफ्नो स्वार्थमा निहित भएको आभास भएको मलाई लाग्यो । विचार र दर्शनको धारलाई भुत्ते पारेर परिवर्तनको द्वन्द्वात्मक भौतिकवादी दर्शनको धारबाट अलग भई वस्तुगत परिस्थितिको ठोस विश्लेषण नगरी मार्क्सवादका दुईचार शब्द निकालेर अवसरवादीमा आधारित भयो,” उनले भने, “सांसदको लागि झगडा गर्ने, सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने, जति खाए पनि नअघाउने, जति भरे पनि नभरिने, मैले मिति २०७९ माघ २१ र २२ को केन्द्रीय समितिको बैठकमा आफ्नो धारणाससहित फरक मत राखेको थिएँ । हालसम्म कुनै पनि छलफल नभएकाले त्यहाँ बसिरहन सकिनँ । यस्तो पार्टीको सदस्य भएर बस्नुभन्दा देशको असल नागरिक भएर बस्ने सोचेँ । भविष्य नभएको पार्टीको सदस्य हुनुभन्दा सम्मानित नागरिक भएर जिउनु जीवनको लागि महत्त्वपूर्ण कुरा हो ।”

प्रतिक्रिया
सम्बन्धित समाचार