Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

तुलसी सहकारी ठगी प्रकरणः अध्यक्ष शर्मासहित ८ जनाविरुद्ध मुद्दा दायर



विराटनगर : बचतकर्ताको करोडौँ रुपैयाँ हिनामिना गरेको आरोपमा विराटनगरमा मुख्य कार्यालय रहेको तुलसी बहमुखी सहकारी संस्थाका अध्यक्षसहित ८ जना संचालकविरुद्ध ठगी मुद्धा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय मोरङले उनीहरुविरुद्ध ठगी मुद्धा दायर गरेको हो ।

मोरङ अदालतका सूचना अधिकारी हेमराज बुढाथोकीका अनुसार सहकारीका अध्यक्ष केदार शर्मा, संचालक समितिका सदस्यहरु बन्टी अधिकारी, आदित्यराज भट्टराई, निर्मला पोखरेल भट्टराई, छविलाल विश्वकर्मा, क्षेत्रीय प्रबन्धक मन्दिप खवास, उपाध्यक्ष अनिता गौतम र सचिब सविना न्यौपानेलाई ठगीमा मुद्दा दायर भएको हो ।

उनीहरुमध्ये क्षेत्रीय प्रबन्धक मन्दिप खवास, लेखा परीक्षण गर्ने सिए शितल चन्द, उपाध्यक्ष अनिता गौतम र सचिब सविना न्यौपाने यसअघि नै पक्राउ परिसकेका छन् भने अन्य फरार छन् । शितल चन्दलाई भने सरकारी वकिलको कार्यालयले प्रतिवादी नबाउने निर्णय गरेको छ ।

बुधबारदेखि प्रतिवादीहरुको बयान सुरु हुने बुढाथोकीले जानकारी दिए । बयान सकिए सोहीदिन थुनछेक बहस हुने र बहसपछि अदालतले आदेश गर्नेछ ।

मोरङ प्रहरी स्रोतका अनुसार सहकारीले ६७ करोड ७६ लाख २१ हजार २६८ रुपैयाँ हिनामिना गरेको खुलेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार