विराटनगर : कोशी प्रदेशको नामकरण खारेजीको माग गर्दै विराटनगरमा भएको आन्दोलनमा पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा दुई दर्जनबढी घाइते भएका छन् । झडपमा परी सशस्त्र प्रहरी र नेपाल प्रहरीका ३÷३ जना घाइते भएका मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए ।
यस्तै झडपमा आन्दोलनकारीतर्फ भने डेढ दर्जनबढी घाइते भएको बताइएको छ ।
झडपमा रबरको गोली लागेर मोरङका सुरज राई घाइते भएका छन् भने मोरङकाे ग्रामथान-६ का २१ वर्षीय सुरज राईलाई दाहिले खुट्टामा रबरको गोली लागेकाे छ।
यसैगरी सुनसरी, धरान-१२ का किराँत राष्ट्रिय माेर्चाका केन्द्रीय उपाध्यक्ष ४१ वर्षीय अशोक राई घाइते भएका छन्।
सुनसरी धरानकै २२ वर्षीय उदय लिम्बूकाे दाहिने खुट्टामा चोट लागेकाे छ भने इटहरी-५का २६ वर्षीय पदम केरुङकाे देब्रे हातको कुइना खुस्केको छ।
यस्तै सुनसरी, धरान-१६ का ५१ वर्षीय शिव आङदेम्बेकाे टाउकोमा गम्भीर चाेट लागेकाे छ। धरानकै ४८ वर्षीय ज्ञानप्रकाश राकाे, धरान-५ का ४६ वर्षीय एक के दर्नाल, २५ वर्षीय विशाल राईकाे टाउकोमा चोट लागेकाे छ।
उनीहरूकाे विराटनगरको पारस अस्पतालमा प्राथमिक उपचारपछि धरान घोपा पठाइएको छ।
आन्दोलनकारीले प्रहरीको घेरा तोड्दै प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले पानीको फोहरा र तीन दर्जन अश्रुग्यास प्रहार गरेको पोखरेलले बताए।
आन्दोलन शान्त पार्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। केही समयअघि तनावग्रस्त बनेको विराटनगरको रोडशेष चौक क्षेत्र अहिले शान्त भएको प्रहरीले जनाएको छ।