विराटनगर : कोशी प्रदेशको नामकरणका विषयलाई लिएर चैत ५ गते विराटनगरमा भएको घटनाको छानबिन गर्न संघीय सरकारले गठन गरेको समिति आज विराटनगर आउँदै छ ।
सरकारले गत शनिबार सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको थियो । कोशी प्रदेश खारेजीको माग गर्दै विराटनगरमा भएको आन्दोलनमा पदम लिम्बू लाजेहाङको मृत्यु भएको थियो ।
छानबिन समितिका संयोजक सुवेदीले आज विराटनगर आइपुग्ने र काम थाल्ने बताए । उनले सबै पक्षसँग छलफल र संवाद गरेर काम अघि बढाइने जानकारी दिए ।
समितिको सदस्यहरूमा जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रजिअ सरद पोखरेल, नेपाल प्रहरीका उपरीक्षक नवीनराज राई, सशस्त्र प्रहरीका उपरीक्षक राजेश उप्रेती, राष्ट्रिय अनुसन्धान आयोगका उपनिर्देशक शेरजङ बहादुर चन्द र उपसचिव कृष्ण बहादुर शाही रहेका छन् ।
कोशी प्रदेशको नामकरण भएसँगै पछिल्लो समय पहिचानवादी समूह प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले चर्को आन्दोलन गर्दै आएको छ ।