Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेश नामकरण विवाद : को-को छन् छानबिन समितिमा ?



विराटनगर : कोशी प्रदेशको नामकरणका विषयलाई लिएर चैत ५ गते विराटनगरमा भएको घटनाको छानबिन गर्न संघीय सरकारले ६ सदस्यीय समिति गठन गरेको छ ।

आन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानबिनका लागि सरकारले सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिको सदस्यहरूमा जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रजिअ सरद पोखरेल, नेपाल प्रहरीका उपरीक्षक नवीनराज राई, सशस्त्र प्रहरीका उपरीक्षक  राजेश उप्रेती, राष्ट्रिय अनुसन्धान आयोगका उपनिर्देशक शेरजङ बहादुर चन्द र उपसचिव  कृष्ण बहादुर शाही रहेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश नामाङ्कन संयुक्त सङ्घर्ष समितिको ब्यानरमा आन्दोलनको नेतृत्व गरिरहेका नेपाल आदिवासी जनजाति महासङ्घ, किरात राई यायोक्खा, किरात याक्थुम चुम्लुङ, नेपाल शेर्पा सङ्घ, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, किरात धर्म तथा साहित्य उत्थान मञ्च लगायतका सरोकारवाला सङ्घसंस्थाका प्रतिनिधिसँग शनिबार बिहान बालुवाटारमा छलफल गरेका थिए ।

छलफलपछि उनले छानबिन समिति गठन गर्न निर्देशन दिएका थिए ।

कोशी प्रदेशको नामकरण भएसँगै पछिल्लो समय पहिचानवादी समूहहरुले नाम खारेज गर्न माग गर्दै आन्दोलन चर्काइरहेका छन् । सोही क्रममा चैत ५ गते प्रदेशको राजधानी विराटनगरमा प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले गरेको बृहत् आन्दोलनमा सहभागी एक जनाको शुक्रबार मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार