Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मुख्यमन्त्री कार्कीको उद्घोष : तीन वर्षभित्र अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउँछौ



विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले तीन वर्षभित्र अन्तर्राष्ट्रियस्तरको खेलकुद रंगशाला निर्माण गर्ने उद्घोष गरेका छन् ।

बिहीबार विराटनगरस्थित शहीद रंगशालामा सातौँ संस्करणको विराट गोल्डकपको उद्धाटन गर्दै मुख्यमन्त्री कार्कीले आगामी वर्ष बजेटमा व्यवस्था गरेर प्रदेशको राजधानी आसपासमा रंगशाला निर्माण गर्ने बताए ।

‘हामी आगामी वर्ष प्रदेश सरकारका तर्फबाट विराटनगर आसपासमै राजधानी आसपासमै अन्तर्राष्ट्रियस्तरको एउटा रंगशाला निर्माण गर्ने योजना राखेका छौँ,’ कार्कीले भने, ‘यसलाई यसै वर्षदेखि काम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’

नेपाली क्रिकेटले एकपछि अर्को सफलता हासिल गरेको बताउँदै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले फरक किसिमबाट क्रिकेट खेलाडीको सम्मान गर्ने बताए । उनले भने, ‘नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल हुने खेलाडीहरुको सम्मानमा प्रदेश सरकारले आगामी आर्थिक वर्षमा विराटनगर आसपासमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्ने उद्घोष पनि गर्न चाहान्छु ।’

सरकारको नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेर आगामी वर्षदेखि बजेटमा समावेश गरेर तीन वर्षभित्र निर्माण गरिसक्ने मुख्यमन्त्री कार्कीले प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रदेश खेलकुद विकास बोर्डमार्फत खेलक्षेत्रको विकासमा कोशी प्रदेश सरकारले लगानी बढाउँदै जाने उनको भनाइ छ । खेल क्षेत्रको विकासमा प्रदेश सरकार सधैँ लागि पर्ने उनले बताए ।

यस्तै आज भएको उद्धाटन खेलमा विभागीय नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै घरेलु टिम विराटनगर सिटी सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको १२१ औँ मिनेटमा विराटनगरका अशिष श्रेष्ठले निर्णायक गोल गर्दै टिमलाई जित दिलाएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार