Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

स्ववियु निर्वाचन : अनेरास्ववियु र नेविसंघ मोरङका ४/४ क्याम्पसमा विजयी


  • Purbeli Press
  • बुधबार, चैत्र ८ २०७९

विराटनगर : स्ववियु चुनावमा मोरङका क्याम्पसहरुमा मिश्रित नतिजा आएको छ । जिल्लाका १० क्याम्पसमध्ये  नेकपा एमाले निकट अनेरास्ववियु र नेपाली कांग्रेस निकट नेविसंघले ४/४ क्याम्पसमा सभापति जितेको छ ।

यस्तै नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले एउटा क्याम्पसमा सभापति जितेको छ ।

अनेरास्ववियुले रमाइलो बहुमुखी र लेटाङ क्याम्पसमा प्यानल नै जितेको छ । डिग्री क्याम्पसमा सभापति मात्रै जितेको अनेरास्ववियुले नर्सिङ क्याम्पसमा सचिवबाहेक प्यानल जितेको छ ।

महेन्द्र मोरङ, उर्लाबारी, पथरी र बेलबारीमा नेविसंघ विजयी भएको छ भने सुकुनामा अनेरास्ववियू र खदम क्याम्पसमा अखिल क्रान्तिकारी विजयी भएको छ ।

अनेरास्ववियुबाट रमाइलो क्याम्पसमा मालती रेग्मी स्ववियु सभापतिमा निर्वाचित भएकि छिन् । उनले संयुक्त बाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका अखिल क्रान्तिकारीका अनिष कार्कीलाई पराजित गरेकी हुन् ।

विराटनगर नर्सिङ क्याम्पसको सभापतिमा नेविसंघ उम्मेदवार स्मारिका बराललाई पराजित गर्दै अनेरास्वविय उम्मेदवार प्रशंशा पौडेल विजयी भएकी छन् । यस्तै डिग्री क्याम्पसमा निर्मल गजुरेल विजयी भएका छन् । डिग्रीका सभापतिबाहेक सबै पद गठबन्धनले जितेको छ ।

लेटाङ बहुमुखी क्याम्पसमा छवि श्रेष्ठको नेतृत्वमा अनेरास्ववियुको प्यानल विजयी भएका छन् ।

महेन्द्र मोरङ क्याम्पसमा नेपाल विद्यार्थी संघका जशवन्त पौडेल विजयी भएका छन् । उनले अखिल क्रान्तिकारीका रोहित यादव र अनेरास्ववियुका उम्मेदवार नवीन पहाडीलाई पराजित गरेका हुन् । सचिवमा भने अनेरास्ववियु एमालेका सनिम ठकुरी विजयी भएका छन् ।

उर्लाबारी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका उम्मेदवार विवेक कार्की प्यानलसहित विजयी भएका छन्। अनेरास्ववियुकि उम्मेदवार प्रीति दाहाललाई पराजित गर्दै उनी सभापतिमा विजयी भएका हुन् । त्यहाँ नेविसंघका विरुद्ध अनेरास्ववियुको नेतृत्वमा पाँच दलीय गठबन्धन थियोे ।

यस्तै पथरी बहुमुखी क्याम्पसको सभापतिमा अनेरास्ववियुका उज्ज्वल लकान्द्रीलाई पराजित गर्दै नेविसंघका केशव राई विजयी भएका छन् ।

बेलबारी बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका पुष्कल सुवेदी (सियोम) र सचिबमा अनेरास्ववियुका विप्लव पोख्रेल निर्विरोध निर्वाचित भएका छन् । छुट्टाछुट्टै संगठनबाट मनोनयन दर्ता गरेपनि उनीहरूले अन्तिम समयमा सर्वसम्मत स्ववियु पदाधिकारी छनोट गरेका हुन्।

सुकुना बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका सन्तोष लिम्बू विजयी भएका छन् । नेकपा एमाले निकट अनेरास्ववियुका मनोज कार्कीलाई पराजित गर्दै लिम्बू सभापति बनेका हुन् ।

यस्तै खदम क्याम्पस, केराबारीको सभापतिमा अखिल क्रान्तिकारीका सिमान्त लुइटेल निर्विरोध निर्वाचित भएको भनी घोषणा गरेपनि त्यसलाई त्रिविले मान्यता दिएको छैन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार