विराटनगर : कोशी प्रदेशकै सबैभन्दा ठूलो र विद्यार्थी राजनीतिको मुख्य थलो मानिएको महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका जशवन्त पौडेल विजयी भएका छन् ।
उनी १६८९ मत ल्याएर विजयी भएका हुन् । सभापतिका लागि उनीसँगै तीन जना प्रतिस्पर्धामा थिए । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका रोहित यादवले ७८४ मत ल्याउँदा एमाले निकट अनेरास्ववियुका नवीन पहाडीले ५९२ मल ल्याएका छन् ।
यस्तै सचिवमा एमाले निकट अनेरास्ववियुका सनिम ठकुरी विजयी भएका छन् । उनले ९३७ मत ल्याएर सचिवमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी नेविसंघकी पुजा विश्वासले ७८६ मत ल्याएकी छिन् ।
स्ववियुको कोषाध्यक्षमा नेविसंघका स्वस्तिक बोहोरा ११४३ मत ल्याएर विजयी हुँदा अनेरास्ववियुका आरोग्य थापाले ९०२ र समाजवादी विद्यार्थी युनियनका राकेश यादवले ७३५ पाएका छन् ।
यस्तै सदस्यहरूमा नेविसंघका ६ र अनेरास्ववियु एमालेका २ जना निर्वाचित भएका छन् । नेविसंघबाट अमीत मुखिया, दिपककुमार यादव, प्रज्जवल बिष्ट, साहिल अन्सारी, रोशन पासवान र सुदिक्षा थापा मगर निर्वाचित भएका छन् । स्ववियु सदस्यमा अनेरास्ववियु एमालेबाट मन्दिप पोखरेल र केवल काफ्ले विजयी भएका छन् ।