विराटनगर : मोरङको उर्लाबारी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानल नै विजयी भएको छ । क्याम्पसको स्ववियु सभापतिमा नेपाली कांग्रेस निकट नेविसंघका विवेक कार्की निर्वाचित भएका हुन् ।
कार्कीले ६५१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमाले निकट अनेरास्ववियुकी प्रीति दाहालले ३२५ मत पाएकी छिन् । दाहाल माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी, राप्रपाको राप्रविसंघ, नेकपा एकीकृत समाजवादीको अनेरास्ववियू र जसपाको समाजवादी विद्यार्थी युनियनका तर्फबाट संयुक्त उम्मेदवार हुन् ।
यस्तै सचिवमा नेविसंघका देवेन्द्र पौडेल ५९५ मतसहित विजयी हुँदा अखिल क्रान्तिकारीका थानेश्वर अधिकारीले ३७० मत प्राप्त गरे । यस्तै कोषाध्यक्षमा भुवन श्रेष्ठ, सदस्यहरुमा सुजन शंकर, दिपेश चौधरी, अन्जना न्यौपाने, सन्दीप बुढाथोकी, शुसिला कार्की, कहना वि.क, विनिता गौतम र विराट थापा विजयी भएका छन् ।
योसँगै नेविसंघले पहिलो पटक उर्लाबारी क्याम्पसमा स्ववियु सभापतिसहित प्यानल जितेको छ । अनेरास्ववियुको पडक मानिने उर्लाबारीमा पाँच दलीय गठबन्धन हुँदा समेत यसपटक नेविसंघ एक्लै विजयी भएको हो ।