Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

माग सम्बोधन भएपछि महेन्द्र मोरङमा अनेरास्ववियुले ताला खोल्यो, भोलिनै निर्वाचन



विराटनगर : विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुले लगाएको तालाबन्दी खुलेको छ । क्याम्पस प्रशासनले निर्वाचन आचारसंहितको उल्लंघन गर्दै गैर जिम्मेवार ढंगले नेविसंघका उम्मेदवारलाई भोट मागेको भन्दै आज बिहान अनेरास्ववियुले तालाबन्दी गरेको थियो ।

अनेरास्ववियुले विभिन्न ५ बुँदे माग राख्दै क्याम्पसमा तालाबन्दी गरेपछि क्याम्पस प्रशासनले छलफलमा बोलाएको थियो ।

मतदाता नामावलीको नाम छानबिन गर्नुपर्ने, क्याम्पस प्रशासनले विद्यार्थीहरुलाई अनेरास्ववियुमा नलाग्न धाकधम्की दिएकाले त्यसको छानबिन हुनुपर्ने, न्यूनतम शूल्कमा फर्जी विद्यार्थीहरुलाई भर्ना गराइ क्याम्पस प्रशासन स्वयम् नेविसंघको पक्षमा उभिएकाले सत्यतथ्य सार्वजनिक गर्नुपर्ने, आम सहमतिको आधारमा निर्वाचनको वातावरण बनाउनुपर्ने तथा शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनुपर्ने अनेरास्ववियुले माग राखेको थियो ।

क्याम्पस प्रशासनसँगको वार्तामा आफूहरुले राखेका मागको सम्बोधन भएपछि ताला खोलेको अनेरास्ववियुका नेता भाष्कर खनालले जानकारी दिए । उनले सबै विद्यार्थीलाई उत्साहका साथ निर्वाचनमा सहभागी हुन आग्रहसमेत गरेका छन् ।

योसँग महेन्द्र मोरङ क्याम्पसमा भोलि (आइतबार) बिहान ८ बजेबाट मतदान सुरु हुने भएको छ । निर्वाचन समितिका संयोजक डा. सुनिल अधिकारीले निर्वाचन समितिले प्रकाशन गरेको निर्वाचन कार्यतालिका अनुसार तोकिएकै समयमा मतदान हुने जानकारी दिए ।

महेन्द्र मोरङ कोशी प्रदेशकै सबैभन्दा ठूलो क्याम्पस मानिन्छ । क्याम्पसमा स्ववियु सभापतिका लागि तीन संगठनबीच प्रतिस्पर्धा हुने भएको छ । नेकपा एमाले निकट अनेरास्ववियुबाट नवीन पहाडी, नेपाली काँग्रेस निकट नेविसंघबाट जशवन्त पौडेल, र माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) बाट रोहित यादव चुनावी मैदानमा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार