विराटनगर : नेकपा एमाले निकट अनेरास्ववियु मोरङले आसन्न स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) को निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र निष्पक्ष ढंगले सम्पन्न गर्न माग गरेको छ । अनेरास्ववियु मोरङका अध्यक्ष तुलसी घिमिरेले शुक्रबार साँझ एक विज्ञप्ति जारी गरी शान्तिपूर्ण निर्वाचनको लागि सम्बन्धित क्याम्पसहरुसँग आग्रह गरेका छन् ।
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले शुक्रबार विराटनगरस्थिन नर्सिङ क्याम्पसमा तालाबन्दी गरेपछि अनेरास्ववियु त्यसको विरुद्धमा उत्रिएको हो । नर्सिङ क्याम्पसमा नेविसंघले गैर राजनीतिक एवं गुण्डागर्दी शैलिमा निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै तालावन्दी गरेको अनेरास्ववियुको आरोप छ ।
नेविसंघको उक्त अराजनैतिक कार्यले स्ववियु निर्वाचन भयरहित र शान्तिपूर्ण ढंगबाट सम्पन्न हुने कुरामा विद्यार्थीहरुमा गम्भीर शंका र भय सिर्जना भएको विज्ञप्तीमा उल्लेख छ । ‘मोरङका ८ वटै क्याम्पसहरुमा स्ववियु सम्पन्न गर्नु त्रिभुवन विश्वविद्यालय संगै राज्यको पनि मुल दायित्व हो । तर, राज्यका महत्वपूर्ण अगंहरु पनि यस्ता गम्भिर विषयमा वेखवर हुने विषयले आम विद्यार्थीहरुलाई थप भय र त्रास सिर्जना गरेको छ,’ विज्ञप्तीमा भनिएको छ ।
सत्तापक्ष विद्यार्थी संगठनहरुले हारको मानसिकता बोकेर सत्ताको आडमा निर्वाचनलाई विथोल्ने र गैर जिम्मेवार बन्नु दुखद पक्ष भएको अनेरास्ववियुको भनाइ छ । नेविसंघको उक्त कार्यले मोरङका अन्य क्याम्पसमा पनि चुनाव हुने स्थिति बन्न सक्ला र ? भन्ने प्रश्न खडा भएको विज्ञप्तीमा उल्लेख छ ।
नेविसंघले विराटनगर नर्सिङ क्याम्पसको तालाबन्दी खोलेर मोरङभरिका क्याम्पसमा निर्वाचन गराउने वातावरण सिर्जना गर्न अनेरास्ववियुले सुझाव दिएको छ । हारको मानसिकताबाट ग्रसित भएर चुनाव विथोल्न लागेमा त्यसबाट हुने क्षतिको जिम्मा राज्य र सत्तापक्ष विद्यार्थी संगठनले लिनुपर्ने अनेरास्ववियु मोरङले चेतावनीसमेत दिएको छ ।
हेर्नुहोस् विज्ञप्ती :
