Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगर नर्सिङ क्याम्पसमा नेविसंघद्वारा तालाबन्दी



विराटनगर : स्ववियु निर्वाचनको मिति नजिकिदै जाँदा विराटनगर नर्सिङ क्याम्पसमा तालाबन्दी भएको छ । क्याम्पसमा विद्यार्थीलाई संगठन छान्न पाउने अधिकारबाट बन्चित गरिएको भन्दै नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको हो ।

क्याम्पस प्रशासनले व्यक्तिगत रुपमा विद्यार्थीहरुलाई कुनै पनि संगठनको पक्षमा नखुल्न भन्दै दबाब दिएपछि नेविसंघले तालाबन्दी गरेको जनाएको छ । यसअघि पनि नेविसंघले पटकपटक क्याम्पस प्रशासनलाई यो विषयमा ध्यानाकर्षण गराउँदै आएको थियो ।

निर्वाचनलाई निष्पक्ष, भयरहित र मयर्मदित ढंगबाट सम्पन्न गर्न आफूहरूले गरेको आग्रहलाई बेवास्ता गर्दै क्याम्पस प्रशासन र निर्वाचन समितिले एक्लौटी काम गर्न खोजेपछि ताला लगाएको नेविसंघका नेताहरुले बताएका छन् ।

नेविसंघका मोरङ अध्यक्ष सरोज पोखरेलले नेपाल विद्यार्थी संघ पक्षधर विद्यार्थीलाई क्याम्पस प्रमुखसहितका कर्मचारीले मानसिक तनाव दिने गरेको बताए ।

विद्यार्थी संगठनमा समावेश नहुनु भन्दै विद्यार्थीलाई व्यक्तिगत रुपमा सम्पर्क गरेर क्याम्पस प्रशासनले धम्क्याएको उनले बताए । उनले भने ‘क्याम्पस प्रशासनदेखि कर्मचारीहरुसम्मले विद्यार्थीलाई संगठनमा नखुल्न भनेर धाक धम्की दिएको भन्ने विद्यार्थीहरुको गुनासो छ, यस विषयमा हामीले प्रशासनलाई पटकपटक सचेत गराउँदा पनि बेवास्ता भएपछि यो कदम चालेका हौँ ।’

नर्सिङ क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियु र कांग्रेस निकट नेविसंघ प्रतिस्पर्धामा छन् । क्याम्पस प्रशासन र निर्वाचन समिति अनेरास्ववियुलाई जिताउन लागेको नेविसंघको आरोप छ ।

यसअघि मोरङको विराटचोकमा रहेको सुकुना बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियुले तालाबन्दी गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार