Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

स्थानीय सेवा सम्बन्धी विधेयक प्रदेशसभामा प्रस्तुत गर्ने कोशी मन्त्रीपरिषद्को निर्णय



फाइल तस्बिर

विराटनगर : कोशी प्रदेश सरकार मन्त्रीपरिषद्को बैठकले स्थानीय तहका कर्मचारीको सेवा शर्त व्यवस्थित गर्न स्थानीय सेवा सम्बन्धी विधेयक प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय गरेको छ । बुधबार मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले स्थानीय सरकारको काम काज प्रभावकारी बनाउन उक्त विधेयक प्रदेशसभामा लैजाने निर्णय गरेको हो ।

प्रदेशको नामकरण भएसँगै प्रदेशका कानुनमा यसअघि लेखिएका प्रदेश १ लाई हटाएर कोशी शब्द राख्नका लागि नाम संशोधन गर्ने विधेयक प्रदेशसभामा लैजाने निर्णय भएको सरकारका कृषिमन्त्री तथा प्रवत्ता भक्तिप्रसाद सिटौलाले जानकारी दिए ।

सिटौलाका अनुसार प्रदेश सरकारले वर्ष दिनमा दिन पाउने ६ वटा विदा राजपत्रमा प्रकाशित गर्ने भएको छ । प्रदेश सरकारले विभिन्न चाडपर्वलाई लक्षित गरी विदा दिने निर्णय गरेको छ ।

यस्तै विपन्न वर्गलाई कडा रोगका लागि उपचार सहायता र अन्यलाई आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धमा आर्थिक सहायता सम्बन्धी कार्यविधि २०७९ स्वीकृत गरेको सिटौलाले जानकारी दिए । जसमा बेखर्चीहरुका लागि पनि आर्थिक सहायता दिने उल्लेख रहेको सिटौलाले जानकारी दिए ।

विपदको समयमा राहत, उद्धार र प्रतिकार्यलाई स्थानीय तहसँग समन्वयका लागि मुख्यमन्त्री अत्यावश्यकीय एकीकृत सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । बैठकले नीजि तथा सरकारी फर्मका लागि पहिलो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार