इटहरी । इटहरी उपमहानगरले सरकारी कर्मचारी र जनप्रतिनिधीहरुका लागि तनाव व्यवस्थापन गर्ने तालिम गरेको छ ।
तनावपूर्ण वातावरणले कर्मचारीको निर्णय क्षमतामा असर नपरोस् भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए । कर्मचारीलाई सदाचारी पेसागत जीवन बिताउनका लागि प्रेरित गर्न र कर्तव्यप्रति प्रतिबद्ध गराउन तालिम राखिएको हो मेयर पौडेलको भनाइ थियो ।
‘कर्मचारी र जनप्रतिनिधीहरुलाई तनाव व्यवस्थापनको तालिम राखेका छौ यो सम्भवतः नेपालकै पहिलो हुनु पर्छ’ मेयर पौडेल ‘कर्मचारीहरू र जनप्रतिनिधीहरुमा अत्यधिक थकान, काममा नियमित अनुपस्थिति, काम गर्नै मन नलाग्ने, कार्यक्षेत्रमा झगडा, उत्प्रेरणाको अभाव, आत्मबलमा कमी जस्ता समस्या देखे पछि तनाव व्यवस्थापनको तालिम राखिएको हो।’
जनताको सीधा सम्पर्कमा रहने इटहरी उपमहानगरपालिकाका कर्मचारीलाई जनसम्पर्क प्रभावकारी बनाउने तरिका सिकाइएको थियो । कार्यालयमा उत्पन्न हुन सक्ने द्वन्द्व र त्यसको व्यवस्थापनका लागि तरिका पनि सिकाइयो । तालिममा उपमेयर सङ्गीता चौधरी,प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता ,वडाध्यक्ष सहित कर्मचारीहरूलाई तालिम दिइएको थियो ।
जीवन विज्ञान प्रतिष्ठान कोशी प्रदेश समितिको सहकार्यमा भएको तालिम कार्यक्रममा जीवन विकास विशेषज्ञ रमेश नेपालले तनावको व्यवस्थापन कसरी गर्ने भन्ने तरिका र ज्ञान दिएका थिए । ‘मानिसको स्वास्थ्य फगत शरीरसँग मात्रै जोडिएको हुँदैन’ उनी भन्छन् ‘मानिस पूर्णरुपमा स्वस्थ हुनको लागि शारीरिकसाथै मानसिक र सामाजिक रूपमा समेत समस्यामुक्त हुनुपर्छ ।
शारीरिकसँगै मानसिक रूपमा स्वस्थ व्यक्तिले आफ्नो क्षमताको अधिकतम उपयोग गर्न र चुनौतीहरूलाई सहजै सामना गरी सृजनात्मक एवं उत्पादनमूलक काम गर्न प्रेरित बन्न सक्ने जीवन विकासका विशेषज्ञ नेपालको भनाई थियो ।