विराटनगर : नेकपा माओवादीका नेता द्वारिकलाल चौधरी नेकपा एमालेमै फर्किने भएका छन् । गत मंसिरमा सम्पन्न निर्वाचनमा प्रदेशसभाको टिकट नपाएपछि उनी एमाले छाडेर माओवादी प्रवेश गरेका थिए ।
तत्कालीन कांग्रेस नेतृत्वको गठबन्धनमा माओवादीबाट प्रदेशसभाको टिकट पाए पनि चौधरी एमालेका रेवतीरमण भण्डारीसँग पराजित भए । लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय रहेका चौधरी इटहरी उपमहानगरपालिकाका पूर्व मेयरसमेत हुन् ।
चौधरीले नेकपा एमाले आफ्नो घर भएको बताएका छन् । आफूले एमाले छाडेर गएपछि आफ्नो घरमा अरुले रजाइँ गर्न थालेपछि आफू एमालेमा फर्किन लागेको उनले बताए ।
एमाले आफ्नै घर भएकाले एमालेमा फर्किन कसैसँग सोधिरहनु जरुरी नभएको उनको भनाइ छ । उनले भने, ‘सुनसरीमा एमालेमा म जति खटेको नेता कोही छैनन्, एमाले त मेरो घर हो, त्यसैले फर्किन मलाई कुनै गाह्रो छैन् । ‘