उदयपुर : उदयपुरको एक विद्यालयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले मदिरा सेवन गरी प्रधानाध्यापकमाथि नै हातपात गरेका छन् । जिल्लाको उदयपुरगढी गाउँपालिका ६ स्थित वागेश्वरी आधारभूत विद्यालय गोहियाका अध्यक्ष टसबहादुर राईले प्रधानाध्यापक अम्बरबहादुर कार्कीमाथि हातपात गरेका हुन् ।
विद्यालयमा नयाँ समिति चयनका लागि आफू अनुकुल अभिभावक भेला स्थगन नगरेको भन्दै राईले हातपात गरेका हुन् ।
प्रधानाध्यापक कार्कीका अनुसार राईले अभिभावक भेला रोक्नका लागि पटकपटक आदेश दिएका थिए । अध्यक्षले सँधै आफू अनुकुल मात्र खोज्ने गर्दा बारम्बार भेला सारेको उनले बताए । अध्यक्षको आदेश नमान्दा आफूमाथि कुटपिट भएको यनको भनाइ छ ।
स्थानीय अभिभावका अनुसार विद्यालयमा नयाँ समिति चयन गर्नका लागि अभिभावक भेला चलिरहेको बेला राई एक्कासी प्रअलाई ज्यान मार्ने धम्की दिँदै हातपात गरेका थिए । राई मादकपदार्थ सेवन गरी विद्यालय प्रवेश गरेका थिए ।
विद्यालय हाताभित्रै प्रअ कुटिएपछि शिक्षक संगठनहरुले कारबाहीको माग गरेका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ र अखिन नेपाल शिक्षक संगठनले संयुक्त विज्ञप्ति जारी गर्द दोषिलाई कडा कारबाही गरी विद्यालयलाई शान्तिपूर्ण वातावरण कायम राख्न अपिल गरेका छन् ।
उनीहरुले शात्तिपूर्ण तवरबाट राखिएका जायज माग पूरा नभए चरणबद्ध आन्दोलनमा उत्रने चेतावनीसमेत दिएका छन् ।