Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

गणितमा पहिचान पक्षधर कमजोर भएपछि कोसीमा सहमति जुटाउन बाध्य भयौँ : आङ्बो



विराटनगर : नेकपा माओवादी केन्द्र कोसी प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशसभामा पहिचान चाहनेहरुको उपस्थिति कम भएकाले आफूहरु कोसी नाम स्विकार्न बाध्य भएको बताएका छन् । प्रदेशसभामा उपस्थित गणितको सन्देश पहिचानको पक्षमा नभएको उनले बताए ।

बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै उनले भने, ‘पहिचानका पक्षधर शक्तिहरुको सानो संख्या हाम्रा लागि दुःखद् बाध्यता थियो भने पहिचान नचाहने शक्तिहरुको भीमकाय आकार आजको वास्तविकता थियो ।’

अघिल्लो कार्यकलमा नेकपा एक्लैसँग बहुमत हुँदा पहिचानको पक्षमा आफूहरु उभिँदा पहिचान नरुचाउने नेतृत्वको कारण नामकरण हुन नसकेको उनको भनाइ छ । उनले विज्ञप्तीमा भनेका छन्, ‘प्रदेश १ कै सन्दर्भमा पनि प्रदेशसभाको पहिलो कार्यकालमा हामीसहित तत्कालीन नेकपा एक्लैसँग दुईतिहाई बहुमतको संख्या थियो । पहिचानमा आधारित प्रदेशको नामका पक्षमा हामीले आफूलाई प्रष्टतः उभ्याउँदा पहिचान नरुचाउने नेतृत्वको कारण नामकरण हुन सकेन ।’

प्रदेशसभाको झण्डै एक कार्यकाल व्यतित भइसक्दासम्म पनि प्रदेशले नाम पाउने अवस्था नहुनु एउटा दुःखद् विषय भएको र प्रदेशसभामा पहिचानको वकालत गर्नेहरुलाई जनतालाई कम मत दिएकाले पनि आफूहरु बाध्यतामा परेको उनले बताए ।

प्रदेशसभाको दुईतिहाई संख्या भएका दलहरुले नामकरणको प्रस्ताव अघि बढाए पनि आफूहरुले प्रदेशको नाममा पहिचान जोड्न अथक प्रयास गरेको बताउँदै आङ्बोले आफूहरुको प्रयास विफल बनेको बताए । पहिचानसहितको नाममा दुईतिहाई मत र्पुयाउँने, नामकरण प्रक्रिया नै रोक्ने र प्रदेश नामकरण नरोक्ने भन्ने विकल्प मात्र आफूहरुसँग भएको बताउँदै उनले भने, ‘प्रतिकूल गणितले पहिलो विकल्पको संभावना थिएन । दोस्रो विकल्पमा जानु प्रदेशवासीको अपेक्षा र आफनै प्रतिबद्धताको पनि विपरित हुन्थ्यो। त्यसैले हामीले नामकरणमा बाधक नबन्ने विकल्प रोजेका हौं।’

पहिचानमा आधारित नामकरण गर्न नसक्दा आफूहरु दुःखी भएको उनले बताएका छन् । भविष्यमा पहिचान पक्षधर शक्तिहरुको दुईतिहाई संख्या आए प्रदेशलाई पहिचानयुक्त नाम दिने प्रयासमा आफूहरु लाग्ने उनको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार