विराटनगर । घरमा आगलागी हुँदा पाँचथरको हिलिहाङ गाउँपालिका ७ भारपाका दुई जना बालकको मृत्यु भएको छ ।
शुक्रवार दिउँसो भएको आगलागीमा परी स्थानीय सरन पन्थाकका पाँच वर्षीय छोरा सेसेहाङ र सन्तोष खातीका चार वर्षीय छोरा निशान खातीको निधन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
हिलिहाङ ७ यवाडाँडाका प्रेम पन्थाकको घरमा दिँउसो कोही नभएका बेला आगो लागेको प्रहरीले जनाएको छ ।
उता यस्तै तेह्रथुमको आठराईमा भएको भीषण आगलागीमा १४ घर जलेका छन् । आठराई ६ चुहानडाँडास्थित हातिखर्कमा आगलागी हुँदा १४ घर जलेको गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले जानकारी दिए ।
दिउँसोबाटै नजिकैको जङ्गलमा लागेको डढेलो गाउँमा पसेको हो । सो वडाका वडाध्यक्ष कृष्ण बास्कोटाका अनुसार झाडीजंगल धेरै रहेको हुँदा आगो नियन्त्रणमा कठिनाई भएको छ । धुवाँधूलोले गाउँ छोपेको छ । आगलागीका कारण अझै बढी घरमा क्षति भएको हुनसक्ने उनले बताए ।
सशस्त्र प्रहरी, जनपथ प्रहरी, पालिकाको टोलीसहित स्थानीयले आगलागी नियन्त्रणको प्रयास गरिरहेको उनले बताए ।