विराटनगर : प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुरक्षाकर्मी सुरक्षित भएमात्र आम नागरीकले सुरक्षाको प्रत्याभुति पाउन सक्ने बताएका छन् । कार्कीले सुरक्षाकर्मीहरुको सुरक्षामा प्रदेश सरकार सधैँ लागि पर्ने बताए ।
बिहीबार १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको नव निर्मित कार्यालय भवनको उद्धाटन गर्दै मुख्यमन्त्री कार्कीले भवन निर्माणले नागरीकको सेवामा प्रभावकारी ढंगले अगाढी बढ्न योगदान पुग्ने बताए ।
भौतिक पुर्वाधारको अभाव र अपर्याप्तताले प्रहरी सेवाका कार्यहरुमा प्रत्यक्ष असर पर्ने बताउँदै उनले सुविधा सम्पन्न भवनले काम गर्न सहज हुने बताए ।
नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको बताए । प्रदेश सरकारबाट प्रदेश प्रहरीलाई प्राप्त भएको नयाँ भवनले प्रहरी कर्मचारीहरुमा थप मनोवल बढ्ने र सेवाप्रवाहमा सहयोग पुग्ने बताए ।
यस्तै उनले कानूनको परिधिमा रहेर जनचाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक श्यामलाल ज्ञवालीले सुविधा सम्पन्न भवन निर्माणले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना गर्ने बताए ।
प्रदेश १ को आन्तारिक मामिला तथा कानुन मन्त्रालयबाट विनियोजित १९ करोड १४ लाख ०१ हजार ६६३ रुपैयाको लागतमा उक्त भवन निर्माण भएको हो ।