Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले ‘मिसन ग्रासरुट’ : मोरङमा विद्यालयमा फुलबारी निर्माणदेखि पार्टी सदस्यको घरमा करेसाबारीसम्म



विराटनगर : नेकपा एमालेले सुरु गरेको मिसन ग्रासरुट अभियानका लागि जिल्ला कमिटी मोरङले विद्यालयमा फुलबारी अभियानदेखि कृषि उत्पादनसम्म अभियान सञ्चालन गर्ने भएको छ । विशेषगरी पालिका तहमा संगठन विस्तार र पार्टी सुदृढीकरणका लागि एमालेले फागुन ५ गते मिसन ग्रासरुट अभियान सुरु गरेको थियो ।

एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार जिल्लामा सामुदायीक विद्यालय शिक्षा सुधार, स्वास्थ्य र पोषणको जानकारी, विद्यालयमा फुलबारी अभियान सञ्चालन गर्ने तयारी गरिएको छ । संगठनात्मक र वैचारिक कामसँगै समाजसँग प्रत्यक्ष जोडिएका क्षेत्रमा पनि अभियान सञ्चालन गरिने पोखरेलले बताए ।

एमालेले अभियानका क्रममा स्वास्थ्य केन्द्रहरुमा सरसफाई गर्ने छ । यस्तै जेष्ठ नागरिकहरुको संस्थामा सहयोग, सम्मान गर्ने कार्यसूचि बनाएको छ । यस्तै विभिन्न वडास्तरमा रहेका भजन, किर्तन मण्डलीहरुसँग छलफल गर्ने र एक अर्काबीच प्रतिस्पर्धा गराई पुरस्कृत गर्र्ने जनाइएको छ ।

सहकारी तथा साना किसान सहकारी सदस्यहरुको भेला आयोजना गरी विषयगत प्रशिक्षण दिने योजना बनाएको एमालेले सामुदायिक वन उपभोक्ताहरुको पनि भेला र विषयगत प्रशिक्षण हुने जनाएको छ । यस्तै समाजमा रहेका धामी, झाक्री, ज्योतिषीहरु र आयुर्वेद औषधि प्रयोग गर्नेहरुसंग पार्टी नेतृत्वको समुहले भेटघाट गर्ने र उनीहरुलाई अहिलेको परिवर्तित सन्दर्भ र परम्परागत प्रणालीका वीच अन्तर सम्वाद गर्ने जनाएको छ ।

समाजमा रहेका विभिन्न धार्मिक/सास्कृतिक समुह, पण्डित/पुजारी, पास्टर, वौद्ध भिक्षुक, मुल्मि, माझीहाडाम र मुखियाहरुलगायतसँग पार्टी नेतृत्वको समुहले भेटघाट गर्ने दुखःसुखका कुरा गर्दै सामाजिक सम्मान गर्ने अभियानमा समेटिएको छ ।

नेकपा एमालेका सबै पार्टी सदस्यहरुलाई अनिवार्य करेसावारी बनाउने र तरकारीमा आत्मानिर्भर बन्न प्रेरित गर्ने तयारी थालिएको छ । पार्टी सदस्यले कम्तिमा एउटा फलफुलको विरुवा रोप्नुपर्ने छ ।

यस्तै किसानहरुका समस्या समाधानका लागि जैविक मल बनाउने प्राविधिकसंग समन्वय गरेर किसानहरुलाई सीप सिकाउने र मलमा आत्मनिर्भर हुन कोशिश गर्न उत्प्रेरित गर्ने भएको छ । जसका लागि गोवर मल/घन्सी /मुङदाल/झोल मल/कृषि चुना/ पिनाको प्रयोग गर्दै आफ्नो माटाको परिक्षण गर्न प्रोत्साहनको अभियान सञ्चालन गर्ने भएको छ ।

अभियानमा पालिकास्तरमा अभियन्ता र पालिका पदाधिकारीको बैठकको आयोजना गरी कार्ययोजना निर्माण गर्ने र आ–आफ्नो कार्यविभाजन सहितको प्रस्ताव तयार गर्नुपर्ने अध्यक्ष पोखरेलले बताए । पार्टीका वडा कमिटी अध्यक्ष र स्थानीयतहका सबै वडा अध्यक्षहरु र प्रमुख, उपप्रमुखसहित अभियन्ताहरुको संयूक्त बैठक बसेर कार्यक्रमको कार्ययोजना निर्माण गर्ने उनले बताए ।

यस्ते जिल्ला कमिटीले पालिका तथा वडास्तरका कमिटीहरुलाई पालिका कमिटी र वडा पदाधिकारी सहितको प्रशिक्षण, टोल/वडा/नगर पदाधिकारी प्रशिक्षण, वुद्धिजिवी भेला, सहकारी नेतृत्व भेला प्रशिक्षण, जनसंगठन नेतृत्व भेला प्रशिक्षण र सबै जनसंगठनको अधिवेशन केन्द्रित वडा स्तरिय उत्प्रेरक वनाई कामको जिम्मेवारी प्रादन गर्न फागुन ३० गते सम्मको समय दिइएको छ । सो समयभित्र पार्टी सदस्यहरुको नविकरण तथा वडा कमिटी र टोल कमिटी पदाधिकारी बैठकबाट नयां पार्टी सदस्यताका विषयमा योजना वनाउन समेत निर्देशित गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार