विराटनगर : प्रदेश १ का प्रदेशसभा सदस्य किशोरचन्द्र दुलालले गुराँसको राजधानी मानिएको तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रलाई प्रदेशकै शानका रुपमा विकसित गर्न सरकारसँग माग गरेका छन् ।
बुधकार प्रदेशसभाको विशेष समयमा बोल्दै उनले तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लामा पर्ने टिएमजे क्षेत्र प्रदेशकै मुख्य पर्यटकीय क्षेत्र भएकाले यसको प्रवद्र्धनमा सरकारले गुरुयोजना निर्माण गरे काम गर्नुपर्ने बताए । उनले भने, ‘प्रदेश नं १ कै यो एउटा मुख्य पर्यटकीय स्थल हो । आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्नका लागि सरकारले तत्काल गुरुयोजना निर्माण गरी काम थाल्न जरुरी छ ।’
सांसद दुलालले संघीय सरकारले ढाकाको राजधानी घोषणा गरेको तेह्रथुमको म्याङलुङमा घरेलु उद्योगका माध्यमबाट ढाका कपडा उत्पादन गर्न सरकारले प्रवद्र्धन गर्न आवश्यक रहेको बताए । प्रदेश सरकारले प्रोत्साहनस्वरुप सहयोग गरे गुणस्तरीय ढाका कपडा उत्पादनमा टेवा पुग्ने र देश विदेशमा यसको प्रयोग व्यापक हुने उनको भनाई छ ।
अघिल्लो कार्यकालमा प्रदेशको नामकरण हुन नसक्दा प्रदेश सरकार र प्रदेशसभा सदस्यहरुको सबत्र आलोचना भएको भन्दै दुलालले भने, ‘विलम्ब नगरी तत्काल प्रदेशको नामकरण गर्नु जरुरी छ ।’
यस्तै उनले पूर्वी पहाडी क्षेत्रमा सिचाइं र खानेपानीको समस्याका कारण जीविकोपार्जनमा समस्या आएको बताए । उनले लिफ्टिङ खानेपानी र किसानका लागि सिचाइंको व्यवस्था गरिदिन प्रदेश सरकारसँग माग पनि गरेका छन् ।